काठमाडौँ :
आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो।
सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय)को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो रङ्गको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्। हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वका बीच हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ। श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन्।
पोस्टर सार्वजनिक गर्न काठमाडौँमा आयोजित कार्यक्रममा मुख्य कलाकारद्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन् भने पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एक(अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो। चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि मुख्य अभिनय रहनेछ।
‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यस पटक एउटा निकै परिपक्व र गम्भीर प्रेमकथामा दिव्याको जोडीका रूपमा आउँदै छन्। युवापुस्तामाझ लोकप्रिय कुलब्वाय र दिव्याको यो फ्रेस अनस्क्रिन केमेस्ट्री कस्तो जम्ला भन्ने कौतूहल दर्शकवृत्तमा पहिल्यैदेखि छ। निर्माण पक्षले तीजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।
‘होस्टेल ३’ मै सहकार्य गरेको सशान कँडेल र माधव शर्माको जोडीले नै ‘बेहुली’लाई आकार दिएको हो। माधवको कथामा सशानले सिनेमाको निर्देशन सम्हालेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस प्रोजेक्टमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गानाले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
पर्दामा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरजस्ता कलाकारले साथ दिएका छन्। प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको छायाङ्कन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ।
चर्चित सङ्गीतकार अर्जुन पोखरेल मुख्य निर्माता रहेको यस चलचित्रमा प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह(निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको शृङ्गार ९मेकअप० र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।