सुचना, समाचार र मनोरन्जन

बबिता मानन्धरको ‘कलियुगकी राधा’मा आश्मा बिश्वकर्मा

काठमाडौं :

लोक–आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायिकाहरू कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रूपमा गीत सार्वजनिक गरेका हुन्।

गीतमा गायिका बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ। राजिव समरको निर्देशन रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य प्रस्तुत गरिएको छ। भिडियोमा दिनेश पराजुलीको छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ। सुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ बिटमा आधारित रहेको छ।

‘कलियुगकी राधा’मा आधुनिक समाजको प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई विषयवस्तु बनाइएको छ। साढे दुई दशकदेखि संगीतकर्ममा सक्रिय गायिका मानन्धरले यसअघि चलचित्र तथा गैर–चलचित्र विधामा दर्जनौँ गीतमा स्वर दिएकी छन्।

कार्यक्रममा बोल्दै वरिष्ठ गायिका कुन्ति मोक्तानले बबिता मानन्धरको गायकीको प्रशंसा गर्दै जुनसुकै विधाको गीतमा पनि उनले न्याय गर्न सक्ने बताइन्। वरिष्ठ गायिका सुक्मित गुरुङले गीतको शब्द, संगीत र भिडियो सन्तुलित रहेको प्रतिक्रिया दिइन्। मोनिला सोताङ र देविका बन्दनाले पनि गीत सफल हुने विश्वास व्यक्त गरेका थिए।

संगीतकार शंकर थापाले अग्रज गायिकाहरूको उपस्थितिमा गीत विमोचन गर्न पाउनु महत्त्वपूर्ण रहेको बताए। भिडियोकी मोडल आश्मा विश्वकर्माले दर्शक–स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा व्यक्त गरिन्।

Leave A Reply

Your email address will not be published.