सुचना, समाचार र मनोरन्जन

डेब्यु नायिका आकृति राजभण्डारी आजबाट दर्शकको परीक्षा

काठमाडौं :

अभिनेता अविषेक खड्का र आकृति राजभण्डारी अभिनीत फिल्म ‘कुमारी’ भोलि शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ। रिलिजको पूर्वसन्ध्यामा फिल्मसँग सम्बन्धित गीतले उल्लेख्य सफलता हासिल गरेसँगै कलाकार केन्द्रमा रहेको चर्चा चुलिएको छ।

फिल्मको लोकप्रिय गीत ‘डोको बुन्ने’ ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पार गरेको छ। केहर सिंह लिम्बुको स्वर रहेको उक्त गीतमा सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन र केहर एन्ड द लुङा ब्यान्डको संगीत रहेको छ। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतहरूमा पनि कलाकारहरूको अभिनय दर्शकमाझ चर्चामा रहँदै आएको छ।

मुख्य भूमिकामा डेब्यु गर्न लागेका अभिनेता अविषेक खड्का र अभिनेत्री आकृति राजभण्डारीको अभिनयलाई लिएर रिलिजअघि नै सकारात्मक प्रतिक्रिया देखिएको निर्माण पक्षको भनाइ छ। फिल्मले देशभरका हलबाट करिब २०० शो प्राप्त गरेको छ, जसले कलाकारका लागि बलियो ओपनिङको आधार तयार गरेको देखिन्छ।

फिल्ममा अविषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्मलाई विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका छन्। फिल्म ‘कुमारी’ भोलि शुक्रबारदेखि कलाकारहरूको अभिनय र दर्शक प्रतिक्रियाको प्रत्यक्ष परीक्षणमा जानेछ।

Leave A Reply

Your email address will not be published.