काठमाडौं :
आगामी फागुन १ गते महाशिवरात्रिको अवसरमा देशभरका सिनेमा हलमा प्रदर्शन हुन लागेको फिल्म ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ।
अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस फिल्मको ट्रेलरमा जोगीको भेषमा बस्ने पात्रद्वारा गरिने आपराधिक क्रियाकलाप र भित्री द्वन्द्व देखाइएको छ। बाहिरबाट साधुजस्तो जीवन बिताउने पात्र भित्र क्रुर मानसिकता र जघन्य अपराधमा संलग्न रहन सक्ने संकेत ट्रेलरले दिएको छ।
फिल्मले पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई जोड्दै ‘समुद्र मन्थन’ को प्रसंग र उत्पन्न विषको कथालाई उठान गरेको छ। ट्रेलरका अनुसार मूल कथा रहस्यमयी दिव्य शिला (ढुंगा) र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाश वरिपरि घुम्छ।
ट्रेलरमा अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय सबैभन्दा बलियो पक्ष बनेको छ। सुरुवाती दृश्यमा उनलाई साधुको रूपमा देखाइएको छ, जसले दिव्य शक्ति वा सिद्धि प्राप्त गर्न मरिहत्ते गर्दैछ। त्रिशूलधारी हात, शरीरमा खरानी र आँखामा देखिएको उन्मादले उनलाई शक्तिशाली ‘एन्टी-हिरो’ वा रहस्यमयी पात्रको रूपमा प्रस्तुत गरेको छ।
अन्य कलाकारहरू तेज गिरी, विकास जोशी, विमला लिम्बू र रुषा न्यौपानेले ट्रेलरमा कथालाई थप रहस्यमयी बनाएका छन्। फिल्म सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको हो। छायांकन, पृष्ठभूमि संगीत र भिएफएक्समा विशेष ध्यान दिइएको छ। भारतीय गायक कैलाश खेरको स्वर र संगीत प्रयोगले ट्रेलरमा आध्यात्मिक भाव थपिएको छ।
फिल्ममा मुख्य भूमिकामा प्रविण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने छन्। अन्य कलाकारमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला रहेका छन्। कथा अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूले तयार पारेका हुन्। निर्माता अञ्जान केसी, सह–निर्माता शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता सम्भू थापा हुन्।
गीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको रचना, संगीतमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी, स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको सहभागिता रहेको छ। फिल्मको छायांकन सरद महतो, सम्पादन बनिश शाह, द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहान, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मुख्य सहायक निर्देशक बारत लिम्बू, स्क्रिप्ट डक्टर सुलक्षण भारती रहेका छन्।
नेपाली चलचित्र क्षेत्रमा पौराणिक विषयवस्तुमा आधारित स्पिरिचुअल एक्शन–ड्रामा कम मात्र बन्ने भए पनि, ‘शिवांश : च्याप्टर १’ ले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ। महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले शिवभक्त र चलचित्र प्रेमीका लागि यो विशेष उपहार सावित हुन सक्छ।