काठमाडौँ,
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारी साधनका हकमा लागु नहुने भएको छ । सरकारले बुधबार यात्रुवहाक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारी साधनको हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।
इन्धनको मूल्यमा भएको बढोत्तरीको हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारी साधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ । विभागका अनुसार कुल १३ वटा सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो ।
अहिले एक प्रदेशबाट एक वा सोभन्दा बढी प्रदेशमा जाने यात्रुबाहक र मालवाहक सवारी साधनका हकमा मात्र भाडा बढेको हो । छोटो दूरी अर्थातः एक शहर भित्र र प्रदेश भित्रको हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने गर्छ ।