काठमाडौं,
चालू आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
गएको आर्थिक वर्षको ६ महिनामा ३ सय ५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा ७ वटा ठूला, ८ वटा मध्यम र ४ सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
विभागका अनुसार पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यी उद्योगबाट २० हजार १ सय २२ रोजगारी सिर्जना हुने आँकलन छ ।
चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आएको देखिन्छ । साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्याङ्क हेर्दा सूचना प्रविधिमूलक क्षेत्रका २ सय ५७ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।
उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
विभागको तथ्याङ्कअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ६ महिनामा १ हजार २ सय २९ लगानीकर्ताले यस्तो भिसाको सिफारिश मागेका छन् ।
