काठमाडौं :
आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। गीतमा सुजन चापागाईँको सङ्गीत, सुजन चापागाईँ र भुषण खतिवडाको स्वर र हर्क साउदको शब्द रहेको छ।
गीतको भिडियोमा घना जंगलभित्रको आदिवासी बस्ती देखाइएको छ, जहाँ अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमै आदिवासी मुखियाको भूमिका निर्वाह गरेका छन्।
यसअघि चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले (सेन्सर बोर्ड) PG प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ।
निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना रहेको छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको ‘बलिदान’लाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।