काठमाडौं :
नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने फिल्म ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ। दार्जेलिङको गोर्खा रंगमञ्च भवनमा यस चलचित्रको प्रिमियर शो आयोजना गरेको हो। प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो।
सो प्रिमियरमा फिल्म निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र फिल्मका टिममा रहेका सदस्यलाई सम्मान गरिएको छ। सौगात मल्लको मुख्य भुमिका रहेको यो फिल्ममा भने उनी उपस्थित हुन सकेनन्। निर्माण टिमले उनी अन्य फिल्मको छायाङ्कनमा व्यस्त रहेका प्रिमियरमा उपस्थित हुन नसकेको जानकारी गरायो।
सञ्जीव सार्कीले निर्माण,जोन राईको निर्देशनमा बनेको यस फिल्ममा सौगातका अलवा अनिशा रसाइली,अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीले अभिनय गरेका छन्। सौगात बाहेक अन्य सबै कलाकारहरुको प्रिमियरमा उपस्थिति रहेको थियो।
फिल्म‘बम बहादुर’ले भारतका नेपाली,विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ। फिल्मले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको छ।
फिल्मका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनले फिल्मलाई बलियो बनाएको प्रिमियरमा उपस्थित भएका दर्शकले बताए। दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पार्श्व सङ्गीतले फिल्मलाई सुन्दर बनाएको प्रतिक्रिया प्राप्त छ।