सुचना, समाचार र मनोरन्जन

‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत

काठमाडौं :

नेपाली फिल्म ‘हर्ष’ मा अभिनेत्री वर्षा राउत लामो समयपछि केन्द्रीय भूमिकामा देखिन लागेकी छिन्। ‘नाइँ नभन्नू ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी राउतले दस वर्षको करियरमा प्रायः ‘गर्ल–नेक्स्ट–डोर’ र गृहिणीको भूमिकामार्फत दर्शकको ध्यान तान्दै आएकी छिन्। यसपटक भने उनले पुरातन वंश परम्परागत चिन्तनको दबाबमा परेकी बुहारीको कथा बोकेको पात्र निर्वाह गरेकी छन्।

एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा राउत पहिलोपटक स्पष्ट रूपमा कथाको केन्द्रमा उभिएकी छिन्। धेरैपछि यस्तो मौका पाएकी उनले दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने बताइन्। “केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अझ ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागिरहेको छ। यस पटक अघिल्ला फिल्मभन्दा कत्तिको सुधार गरें भन्ने कुरा दर्शकले पनि तुलना गर्नुहुनेछ,” उनले भनिन्।

पछिल्लो काम ‘ऐँचो पैँचो’ बाट प्रशंसा कमाएकी राउतलाई अन्तरवार्तामा प्रायः विवाह, दाम्पत्य र बच्चासम्बन्धी प्रश्नहरू उठ्ने गर्छन्। तर यो फिल्ममा निर्वाह गरेको भूमिकामा व्यक्तिगत जीवन मिसिएको अनुमानलाई उनले अस्वीकार गर्दै “म पात्रमा मात्रै थिएँ, पात्रको भोगाइ त्यसैको हो। निर्देशकले खोजेको इसेन्सअनुसार आफूलाई ढालेकी हुँ,” भनिन्।

कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि फिल्ममा जोडिएकी राउतले ‘हर्ष’ लाई केवल रुन बनाउने फिल्म ठान्नु गलत हुने बताउँदै “यसले पारिवारिक कथा बोकेको छ। रुवाउने हो तर हर्षका आँसु झार्ने प्रकारको,” भनिन्। उनका अनुसार फिल्मका पात्रहरूसँग दर्शकले भावनात्मक नाता जोड्न सक्ने भएकाले परिणामप्रति उनी आशावादी छिन्।

हाल पारिवारिक कथालाई दर्शक हलसम्म तान्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उनले हालका सफल नेपाली फिल्महरूलाई उदाहरण दिइन्। “हाम्रो फिल्मले खुशी दिलाउँदै रुवाउनेछ। दर्शकले आफ्नो परिवारसँग तुलना गरेर अनुभूति गर्नुहुनेछ,” उनले थपिन्।

एकता पौडेलको निर्देशनमा तयार भएको ‘हर्ष’ मा वर्षा राउत र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ। वर्षाले जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छन्। फिल्म मंसिर १२ गते अल–नेपाल रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.