सुचना, समाचार र मनोरन्जन

‘परान’ ले चौथो शनिबार पनि करोड क्लब, घरेलु बक्सअफिसमा आक्रमक कमाइ जारी

काठमाडौं :

नीर शाह अभिनीत फिल्म ‘परान’ ले प्रदर्शनको चौथो शनिबार पनि घरेलु बक्सअफिसमा एक करोडभन्दा बढी कमाइ गर्दै आफ्नो सफलतायात्रा विस्तार गरेको छ। १४ कात्तिकमा रिलिज भएको फिल्मले ६ मंसिर (चौथो शनिबार) मा सिनेपाः बक्सअफिसमार्फत देशभर १ करोड ११ लाखभन्दा बढी कमाइ गरेको हो।

पहिलो शनिबार बाहेक फिल्मले लगातार दोस्रो, तेस्रो र चौथो शनिबार पनि एक करोडभन्दा धेरै कमाई दर्ज गरेको छ।

फिल्मले चौथो शनिबारसम्म १३ देखि १४ करोड रुपैंया ग्रस कमाइ गरेको अनुमान गरिएको छ। यद्यपि, यसको आधिकारिक विवरण चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गर्नेछ।

आइतबार पनि देशभर ‘परान’ को व्यापार सकारात्मक रहने देखिन्छ। आइतबारको अकुपेन्सी ३०–५० प्रतिशत हाराहारीमा रहेको छ भने कतिपय मल्टिप्लेक्सहरूमा बेलुका शोज हाउसफुल नजिक पुगेका छन्।

दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मले सन्तान–अभिभावक सम्बन्ध र रेमिट्यान्सले सामाजिक मूल्यमा पारेको प्रभावलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्छ। ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। यसले अनमोल केसी स्टारर ‘जेरी अन टप’ को कमाइसमेत उछिनेको छ।

Leave A Reply

Your email address will not be published.