काठमाडौं :
सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। कम्पनीको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको १ मिनेट १४ सेकेन्डको टिजरमा एक आमाले आफ्नी छोरीलाई आँसु झार्दै स्वीकार गर्ने भावनात्मक कथन प्रस्तुत गरिएको छ, जसले अटिजमसँग सम्बन्धित गम्भीर पक्षलाई संवेदनशील ढंगले उठाएको छ।
निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै फिल्मलाई देश–विदेशका विभिन्न फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङमा लैजाने तयारी अघि बढाइएको छ। यसअघि सार्वजनिक गरिएको दुई पोस्टरले नै दर्शकको ध्यान आकर्षित गरिसकेको थियो।
डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारको अभिनय समावेश छ। टिजरले ‘मौन’ले अटिजम जस्तो प्रायः बेवास्ता गरिने विषयलाई गहिराइका साथ कथाबद्ध गरेको संकेत गर्छ।
निर्माता–निर्देशक ज्ञवालीले फिल्म कुनै व्यावसायिक उद्देश्यका लागि नभई सामाजिक चेतना र सहानुभूति फैलाउने लक्ष्यका साथ निर्माण गरिएको बताए। डकुड्रामाको कथा लेखक रामशरण पाठकले लेखेका हुन्।
केही समयअघि नेपालमा उत्पन्न जेन्जी आन्दोलनका कारण ‘मौन’का विशेष शो र च्यारिटी कार्यक्रम स्थगित गरिएको थियो। निर्देशक ज्ञवालीका अनुसार राजनीतिक तथा सामाजिक परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम रोकिएको र अब आयोजकहरूसँग समन्वय गरी स्क्रिनिङ सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। उनका अनुसार स्कुल, कलेज, संस्था तथा समुदायलाई अटिजमबारे सचेत गराउने अभियानका रूपमा विशेष प्रदर्शन सञ्चालन हुनेछ।
फिल्ममा शंकल्प भुजेलले छायांकन, वसन्त अधिकारीले प्रमुख सहायक निर्देशन, हरी क्षेत्री भूपेन्द्रले सहायक निर्माण, भरत कँडेलले ध्वनि डिजाइन, राजेन्द्र मोक्तनले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादन गरेका छन्।
पत्रकारितामा करिब एक दशक बिताएका रामजी ज्ञवाली डकुड्रामा, डकुमेन्ट्री र सर्ट फिल्म निर्माणमा सक्रिय छन्। उनले आराध्या, एक लभर, हनिमुन, लिलामी, डार्कमुन, लापत्ता सन्तान, रित्तो गाउँ, मौन र निशब्द लगायतका परियोजना तयार गरिसकेका छन्। तीमध्ये मौन, निशब्द र रित्तो गाउँ सार्वजनिक नगरी च्यारिटी तथा विशेष स्क्रिनिङ केन्द्रित गरिएको छ।