काठमाडौं :
भुवन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको छ। गीतमा युग भुसालको शब्द तथा संगीत,तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।
भुवन केसीका फिल्म निर्माणको भव्यताका लागि चिनिन्छिन् । यही भव्यता भित्र पर्छन् उनले छान्ने गीत र तिनको छायांकनमा देखिने उदारता । ‘मेरो मन चोर्यौ सुटुक्क’मा पनि उनले त्यही आफ्नो पुरानो छविलाई निरन्तरता दिएका छन्। गीतको अडियो त श्रुतिमधुर छ नै भिडियो पनि उत्तिकै रोचक तरिकाले निर्माण गरिएको छ। आम गीतभन्दा यो गीतको भिडियोले टिजरमा देखिएको कथा र कथाको परिवेशलार्ई अगाडि बढाउने काम गरेको छ। गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैघारी जस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयमा फर्काएका छन्।

गीतमा फिल्मका मुख्य २ कलाकार नायक अनमोल केसी र नव–नायिका प्रिन्सी खतिवडा फिचर्ड छन्। टिजरमा अनमोलको लुक सार्वजनिक भएसँगै धेरैले उनलाई उनकै पिता भुवन केसीको झल्को आएको प्रतिक्रिया दिएका थिए। यो गीतले त्यो धारणालाई अझ बल पुर्याउने अनुमान गर्न सकिन्छ। किनकी गीतमा अनमोलको अदाले भुवन केसीकै पुराना गीत हेरेको महसुस गराउँछन्। यही फिल्मबाट डेब्यु गरेकी प्रिन्सीले पनि यत्तिकै भुवन केसीको छनौटमा परेको हैन है भन्ने छनक दिएकी छिन्। गीतका शब्द शब्दमा उनले देखाएको एक्सप्रेसन र अदाले पुरानो समयकी कृष्टि केसीको झल्को दिएका छन्।
भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको चलचित्रमा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो फिल्म आगामी कार्तिक २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व संगीत छ । फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा रहेका छन्। यो फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा चलचित्रका सह–निर्माता हुन्।