सुचना, समाचार र मनोरन्जन

बेगनास कपको उपाधि मिक्कि एफ.सि लाई

पोखरा/
बेगनास युवा क्लव द्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि रामबजारले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सिले उपाधी हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख २५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सिले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसकेता पनि त्यसपछि थपिएको अतिरिक्त १ मिनेटको समयमा जर्सि नं. ५५ का लिले गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै जर्सि नं. ७३ का विनम गुरुङले डि बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यहि १ मात्र गोल नै मिक्कीका लागी उपधि जित्न निर्णायक बनेको हो ।

खेलको दोश्रो हाफपछि पनि दुवै टिमले प्राप्त गरेका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन । विनोद मेमोरियलका जर्सि नं. ६६ का विकास परियारले उपलब्ध गराएको पासलाई जर्सि नं ५ का अनुज भण्डारीले हेड गर्दै गरेको प्रयास गोल पोष्टको बारमा लागेर फर्किएको थियो ।

खेलको ३६ औं मिनेटमा विनोद मेमोरियलका अनुज भण्डारीलाई डबल ट्याकल गर्दै फल गरेपछि मिक्कि एफ सि को तर्फबाट १ मात्र गोल गर्न सफल विनम गुरुङ रेड कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । त्यसपछि मिक्की एफ सि कमजोर अवस्थामा पुगेपनि बराबरी गर्नुपर्ने दवावमा रहेको मेमोरियलले कुनै गोल गर्न नसक्दा उप–विजेतामा चित्त बुझाउनुपरेको छ । विनोद मेमोरियलले उप–विजेताको उपाधिसँगै नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा एन के क्लवले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद रु ८ हजार प्राप्त गरेको छ भने मिक्की एफ सिका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन । उनीहरुले उपाधिसँगै जनही रु ५/५ हजार प्राप्त गर्न सफल भएका छन ।

फाईनल खेल शुरु हुनु अघि समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय फुटवल टोलिका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकिय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको आफुले पाएको वताउँदै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र यसबाट राम्रा खेलाडीहरु उत्पादन गर्न सकिने वताउँदै उनीहरुलाई राष्ट्रिय स्तरमा अगाडी वढाउन आफ्नो तर्फबाट पहल र प्रयास हुने वताएका थिए ।

Leave A Reply

Your email address will not be published.