काठमाडौं :
यहीँ भदौ २६ गते रिलिज हुने फिल्म ‘बेहुली’को दोस्रो गीत रिलिज भएको छ। पहिलो गीत ‘दिलमा ठाउँ छ’ले युट्युबमा १ करोड भ्यूज पार गरेपछि अर्को गीत रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन्। यस गीतमा फिल्मका प्रस्तुतकर्ता समेत रहेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।
भिडियो र गीतको अडियो जति उत्कृष्ट रहेको प्रतिक्रिया कमेन्ट बक्समा देख्न सकिन्छ। उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा भारतको दार्जिलिङ,मिरिक र सिक्किमका दृश्यहरु हेर्न सकिन्छ। कथाको गहिराई र दृश्यको मागअनुसार नै हामीले गीतको छायांकनका ति स्थानहरू रोजेको फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले बताए। गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस फिल्ममा पारस र दिव्याको साथमा सुशान्त कार्की,पदम तामाङ, सन्तोष बानियाँ,सरिता गिरी,विशाल पहारी,कर्मा लामा,दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ,सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता,कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल,सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस फिल्मका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन्। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने यो फिल्मको डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।