काठमाडौँ,
नेपाली कांग्रेसले सेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ । कांग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताएका हुन् ।
त्यसै अनुरूप कांग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो शृङ्खलामा सेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको छ । छलफलको सुरुवात गर्दै सभापति थापाले सेयर बजारको वर्तमान अवस्था र यसका चुनौतीहरूबारे पार्टीले गम्भीरतापूर्वक छलफल सुरु गरेको बताए ।
मुलुकमा निर्वाचन सम्पन्न भएपछि सेयर बजारले उत्साहजनक गति लिने धेरैको अनुमान र अपेक्षा रहे पनि व्यवहारमा त्यस्तो हुन नसकेको थापाले स्वीकार गरे । ‘निर्वाचन पछाडि सेयर बजार अत्यन्त राम्रोसँग अगाडि जाला भन्ने अनुमान थियो, तर दुर्भाग्यवश जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,’ थापाले भने । थापाले यसका कारणहरू, अप्ठ्याराहरू र तत्काल गर्नुपर्ने सुधारका बारेमा विज्ञहरूसँग सुझाव मागिएको जानकारी दिए ।
थापाले सुवर्ण शमशेर इकोनोमिक सिरिजलाई तीन वटा क्याटगोरीमा विभाजन गरेर सञ्चालन गरिने बताए । संसद् र सडकमा बहस भइरहेका समसामयिक आर्थिक विषयहरूमा छलफल गर्ने, सैद्धान्तिक र दीर्घकालीन विषयहरूमा विदेशी विज्ञहरूसमेत सहभागी गराएर व्यापक छलफल गर्ने र नयाँ पुस्तालाई आर्थिक मुद्दामा जोड्ने, फेलोसिप प्रदान गर्ने र पार्टीभित्र नयाँ आर्थिक ज्ञानको विकास गर्ने लक्ष्य रहेको थापाले बताए ।
कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तुहरू र विज्ञका सुझावहरूलाई कांग्रेसको विज्ञ टोलीले सङ्कलन गर्ने थापाको भनाइ थियो । सुझावहरूको आधारमा एउटा प्रतिवेदन तयार पारिने र त्यो प्रतिवेदन पार्टीका सांसदहरूलाई उपलब्ध गराइने थापाले बताए । ‘हाम्रा सांसदहरूले संसदमा कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउन सकुन् भनेर हामीले यो गृहकार्य गरेका हौँ,’ थापाले भने ।
डा।गोविन्द पोखरेलले संयोजन गरेको कार्यक्रममा अर्थशास्त्रीहरू, पुँजी बजारका विज्ञ र पार्टीका नेताहरूको सहभागिता थियो । थापाले पार्टीले अब केवल राजनीतिक नारामा मात्र नभई आर्थिक समृद्धिका ठोस एजेन्डामा विज्ञहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए ।