सुचना, समाचार र मनोरन्जन

बेलायतमा ‘अञ्जिला’को भव्य प्रिमियर,तर एञ्जिला नै उपस्थित भइनन्

लन्डन :

बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ।

आइतबार भएको प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहेका नेपाली फिल्मकर्मी,व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति रहेको थियो।

नेपालबाट यस फिल्मकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह(निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए। साथै, फिल्म निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए। नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन्। प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले फिल्म टिमलाई शुभकामना दिँदै सबै दर्शकहरूलाई धन्यवाद दिएकी थिइन्। साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो।

प्रिमियर समारोहमा राजदूत घिमिरेले निर्माण टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उनले भने,‘म आज साँच्चै नै गर्व गरिरहेको छु । उहाँहरूले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतलाई ठुलो प्रभाव पार्न गइरहेको छ । अहिले उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीहरू माथि चलचित्र बन्न सुरु भएको छ, जसले नयाँ इतिहासको अध्याय सुरु गरेको छ।’

समारोहमा चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको सङ्घर्षलाई उजागर गर्न यो फिल्म निर्माण गरिएको बताए। चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्‍याउन अञ्जिला निर्माण गरिएको बताए। उनले भने, ‘नेपालमै पहिलो पटक हामीले फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ। खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो।’

उनका अनुसार नेपाली खेल क्षेत्रमा अझै धेरै कथा छन्, जसलाई चलचित्र मार्फत विश्वसामु लैजान सकिन्छ। निर्माता प्रेम कुमार श्रेष्ठले युकेका दर्शकहरूले फिल्मलाई अत्यन्तै मन पराएको बताए। उनले पत्रकारसँगको कुराकानीमा भनेका छन्,‘हङकङमा पनि चलचित्रको प्रिमियर भएको थियो, जहाँ उच्च प्रशंसा भएको थियो । ुरियल स्टोरीुमा ुरियल प्लेयरुलाई अभिनय गराउन निकै कठिन थियो, तर पनि हामीले ४ वर्ष लगाएर यो चलचित्र बनायौँ । अहिले प्राप्त भइरहेका प्रतिक्रियाले उत्साहित छौँ ।’

यो फिल्म नेपाल रिलिज अगावै अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ। निर्माता श्रेष्ठले प्रिमियरबाट सङ्कलित सबै रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । यही फागुन २९ गतेबाट रिलिज हुन लागको यस फिल्मको एञ्जिलाका अलवा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङ रहेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्। फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ।

Leave A Reply

Your email address will not be published.