काठमाडौं :
हिउँदको महिनामा मेला महोत्सवले कलाकारहरुलाई व्यस्तता बढाइरहेको छ। पछिल्लो समयका चर्चित गायकगायिका तथा हास्यकलाकारहरुले देशका कुनाकुनामा भएको महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका छन्। पछिल्लो पुस्ताका गायिका बेनिशा पौडेलको पनि व्यस्तता उस्तै बढेको छ। फिल्म ‘छक्का पञ्जा ५’मा समावेश गीत ‘धानको बाला झर्ला कि नझर्ला’ लगायत दर्जनौ हिट गीत दिएकी पौडेलको व्यस्तता बढेको हो।
पुष १२ गते चितवनमा आफ्नो प्रस्तुती दिएकी गायिका पौडेलले हिजो पश्चिममा रहेको धनगढी महोत्सवमा पुगेकी थिइन्। उनको एकपछि अर्को स्टेज कार्यक्रममा लागि अफर आइरहेको छ। उनले धनगढी महोत्सवबाट फर्कने बितिक्कै भोली चौथो गोरकाली महोत्सव गोर्खामा आफ्नो प्रस्तुती दिदैछिन्। निकै व्यस्त रहेकी पौडेलले स्टुडियोमा पनि धमाधम गीतहरु रेकर्ड गरिरहेकी छन्।
हालै उनले नेवारी गीत समेत गाएकी छन्। ‘बालामा मेजु’बोलको गीतमा बेनिशाले गाएकी हुन्। उनीसँगै यो गीतमा विजय दोङ र करुणा श्रेष्ठले पनि गाएका छन्। उनले डिसेक्बर १७ तारिखका दिन शंकर अधिकारी गायलको शब्द रचनामा रहेको २ वटा गीतमा स्वर भरेकी थिइन्।
अहिले पनि दर्जनौ गीतहरु रेकर्डलाई थाति राख्दै उनी महोत्सवमा आफ्ना दर्शकलाई नचाउन पुगेकी हुन्। यसअघि उनले गाएका ‘उनका जहाँ छुन्छु त्यहि पाउँछु’,‘हाम्रो यो माया कहिल्यै नछुटोस्’,‘सम्बन्ध’,‘पटुकी बेरेको’लगायत २ सय भन्दा बढि गीत चर्चामा रहेका छन्।
‘नेपाल आइडल ४’को प्रतिस्पर्धामा उत्कृष्ट सातबाट बाहिरिएकी बेनिशा आफै पनि एरेन्जर तयारीमा छिन्। महोत्सवमा बेनिशा बाहेक शान्तीश्री परियार,समिक्षा अधिकारी,रचना रिमाल,शान्तारानी परियारदेखि कमेडियनहरुको समेत व्यस्तता बढेको छ।