सुचना, समाचार र मनोरन्जन

आन्दोलनकारी पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पोखरा,

नेपाली कांग्रेस कास्कीका जिल्ला सचिव एवं युवा नेता भानुभत्त ढकालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघबाट राजनीतिक तथा सामाजिक यात्रा सुरु गरेका ढकालले विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्मको आफ्नो लामो राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।

ढकालले संगठन निर्माण, विद्यार्थी आन्दोलन तथा लोकतान्त्रिक व्यवस्थाका लागि भएका संघर्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्। लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय दाजु कमलमणि ढकालसँगको सहयात्रा र संघर्षका अनुभवले पनि आफ्नो राजनीतिक यात्रालाई थप प्रभावित गरेको उनको भनाइ छ।

२०५८ सालमा क्याम्पस जीवनमा प्रवेश गरेदेखि नै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको संघर्ष, अभियान र नेतृत्वसँग सहयात्रीका रूपमा जोडिँदै आएको उल्लेख गर्दै ढकालले हिजो, आज र भोलि पनि सोही राजनीतिक यात्रामा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणासँगै ढकालले ‘पद होइन, विचार सेवा र संघर्षको निरन्तरता’ लाई आफ्नो मुख्य राजनीतिक आधारका रूपमा अघि सारेका छन्। कांग्रेसभित्र देखिएका विकृति र विसङ्गतिविरुद्ध संस्कारसहितको युवा हस्तक्षेप आवश्यक रहेको बताउँदै उनले पार्टीको नवनिर्माण, देशको समृद्धि र नयाँ राजनीतिक संस्कार निर्माणका लागि आफूले भूमिका खेल्ने बताएका छन्।

लामो समयदेखि कांग्रेसको संगठन तथा आन्दोलनमा सक्रिय ढकालले महाधिवेशन प्रतिनिधिका रूपमा युवा पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.