पोखरा,
“म आफूलाई केन्द्रमा राखेर भन्दा पनि क्षमता र योग्यतालाई प्रधान मानेर मत दिनुहोला भनी विनम्र अनुरोध गर्दछु। खुल्लातर्फ १० जनामध्ये ९ मत अन्य सक्षम साथीहरूलाई दिनुहोस्, १ मत मलाई दिनुहोस् तपाईंको मतको सही सदुपयोग हुनेछ!”
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा कास्की क्षेत्र नं. २ को आन्तरिक राजनीतिमा नयाँ ऊर्जा, स्पष्ट विचार र भरोसालाग्दो दृष्टिकोणसहित युवा नेता दिनेश आचार्य मैदानमा उत्रिएका छन्। कानुनका स्नातक एवं पेशाले अधिवक्ता समेत रहेका आचार्यले कास्की क्षेत्र नं. २ बाट खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसका युवा पुस्तामाझ अत्यन्तै बौद्धिक, प्राज्ञिक र अध्ययनशील छवि बनाएका दिनेश आचार्य अंग्रेजी साहित्यमा स्नातकोत्तर हुन्। प्राध्यापन पेशासँगै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा विद्यावारिधि (PhD) गर्दै गरेका आचार्य नेपाली काँग्रेसभित्र आन्तरिक लोकतन्त्र, विधि र पद्धतिको सवालमा निरन्तर आवाज उठाउने खरो र अध्ययनशील युवाका रूपमा परिचित छन् ।वाक्पटुताका धनी आचार्य आफूलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको सच्चा हिमायती मान्छन् ।
“म आफूलाई केन्द्रमा राखेर भन्दा पनि क्षमता र योग्यतालाई प्रधान मानेर मत दिनुहोला भनी विनम्र अनुरोध गर्दछु। खुल्लातर्फ १० जनामध्ये ९ मत अन्य सक्षम साथीहरूलाई दिनुहोस्, १ मत मलाई दिनुहोस् तपाईंको मतको सही सदुपयोग हुनेछ!”

क्षेत्रीय सभापति पदमा सर्वाधिक लोकप्रियता र जित सुनिश्चित हुँदाहुँदै पनि पदको हानिनोक्सानीभन्दा माथि उठेर उनले नयाँ साथीहरूलाई मार्गप्रशस्त गरिदिए । पद र गुटको व्यवस्थापनभन्दा पार्टीको पुनर्उत्थान र शुद्धीकरण मुख्य विषय भएको बताउँदै उनले भने, “मलाई अझै पनि क्षेत्रीय सभापति लड्नुस्, कसैसँग आत्मसमर्पण नगर्नुस् भनेर धेरै फोन आएका छन्। निष्ठावान् साथीहरूप्रति म कृतज्ञ छु। तर सवाल एकथान सभापतिको होइन, म मात्रै हुनुपर्छ भन्ने पनि होइन। पार्टी संगठनमा इमानदार भएर लागेका साथीहरूलाई नेताले ह्विप वा कृपाका आधारमा दिएको टिकट जमिनले पत्याएन। अब पार्टी शुद्धीकरणका लागि इमानदार साथीहरूलाई चुनेर मत दिनुपर्छ।”
कास्की २ का आदरणीय मतदाता, निष्ठावान् कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरूसँग इमानदारिताका साथ हात जोडेर मत र विश्वास माग्दै आचार्यले आफ्ना भनाइ राखेका छन्, “कास्की २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा काबिल युवा साथीहरू मैदानमा हुनुहुन्छ, त्यहाँ उच्चतम विवेक प्रयोग गर्नुहोला। खुल्लातर्फका १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ९ मत अन्य सक्षम नेता साथीहरूलाई दिनुहोला र १ भोट मलाई दिनुहोला। तपाईंको मत इमानदारीपूर्वक राष्ट्र र संगठन निर्माणमा लगाउने प्रण गर्दछु। व्यक्तिगत लाभ-हानि फरक कुरा हुन्, निष्ठा र इमानदारिताले जित्नुपर्छ। पार्टी सुधारको यो अभियान म जीवनपर्यन्त कायम राख्नेछु।”
विधि, पद्धति र विचारको जगमा काँग्रेसलाई पुनःउत्थान गर्ने दृढ संकल्प बोकेका अधिवक्ता दिनेश आचार्यको यो उम्मेदवारीले कास्की २ का मतदातामा नयाँ आशा र भरोसा जगाएको उनका शुभचिन्तक बताउँछन् ।