काठमाडौं :
कलाकार तथा निर्देशक पवन केसी अब गायक पनि बनेका छन्। बहुप्रतिभाका धनी केसीले आफ्नो स्वरमा शिव स्तोत्र भजन ‘आशुतोष शशांक शेखर’ भजन तयार पारेका छन्। पौराणिक ग्रन्थ शिव महापुराणमा आधारित संस्कृत भाषाको शिव स्तोत्र भजन ‘आशुतोष शशांक शेखर’ भजन गाउदै उनले आफुलाई गायनमा पनि अगाडि बढाएका हुन्।
यस भजनका शब्दहरु पौराणिक स्तोत्रबाट लिएको गायक केसीले बताए। यस भजनलाई संगीतकर्मी सञ्जय खड्गीले संगीत संयोजन गरेका छन्। यसअघि यही स्तोत्रमा भारतीय गायकहरु सोनु निगम तथा सुरेश वाडकरले स्वर दिइसकेका छन्। भजन सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको उनको भनाई छ।
यो भजन स्रोता दर्शकले आर मीडिया युट्युब च्यानलमार्फत हेर्न सक्ने छन्। टेलिफिल्म,फिल्म तथा म्युजिक भिडियोमा सक्रिय रहेका केसीको यो पहिलो प्रयास हो। उनले भने,‘भजन बाहेक अन्य गीतहरु पनि निकट भविष्यमा निकाल्ने छु। अहिले यहीँ गीतको प्रचारप्रसारमा नै व्यस्त भएकाले अर्को गीतमा अहिले नै तयार गरौँ भन्नेमा म छैन।’
