सुचना, समाचार र मनोरन्जन

प्रचारप्रसारमा भित्तेलेखन गरे २५ हजार जरिबाना

काठमाडौँ,

निर्वाचन प्रचारप्रसारमा भित्तेलेखन गर्न नपाइने प्रावधान छ । कसैले कुनै प्रकारको पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्नेरछपाउने कार्य गरे २५ हजारसम्म जरिबाना हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोगले तोकेको आकार र रङको सामान्य पर्चा वितरण गर्न भने पाउनेछन् ।

यसबाहेक निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न पाइँदैन ।

निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले गरिने सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउन्ड सिस्टमको समेत प्रयोग गर्न नपाइने प्राबधान छ ।

कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन ।

उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुँदैन ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार यस्तो कार्य गरेको पाइएमा कसुरमा संलग्नलाई निर्वाचन आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

Leave A Reply

Your email address will not be published.