सुचना, समाचार र मनोरन्जन

विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल

काठमाडौं :

लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली फिल्म ‘जिरो डिग्री’मार्फत निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस फिल्मका कथाकार समेत हुन्। फिल्मको निर्देशन सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्ने भएका छन्।

यसअघि भुसालले निर्देशन गरेको फिल्म ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। निर्देशकद्वय काफ्ले र बरालले यसअघि निर्देशन गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले चर्चा कमाएको थियो।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले लेखेका हुन्। फिल्मको कथावस्तु सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ। आमाबुवाको निधनपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेलसम्म शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँभित्र ल्याइएपछि उत्पन्न हुने अनौठा र उथलपुथलपूर्ण घटनाहरूलाई फिल्ममा प्रस्तुत गरिएको छ। निर्देशकका अनुसार फिल्म केवल फ्रिज गाउँसम्म पुर्‍याउने कथामा सीमित नभई ‘डार्क कमेडी’ शैलीमार्फत समाजका गहिरा यथार्थ उजागर गर्ने प्रयास हो।

यसअघि सार्वजनिक गरिएको फिल्मको पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको केन्द्रबिन्दु बनेको डीप फ्रिजलाई प्राथमिकता दिइएको थियो। फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’ हाल छायाङ्कनको तयारी चरणमा रहेको र निर्माण पक्ष विभिन्न स्थानमा पुगेर लोकेसन तय गरिरहेको जनाएको छ। आगामी वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यस फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

निशाल पौडेलले छायाङ्कन गर्ने यस फिल्मका गीतमा अङ्कित बाबु अधिकारीले सङ्गीत भर्नेछन् भने ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।

Leave A Reply

Your email address will not be published.