काठमाडौं :
माघ २३ गते रिलिज हुने फिल्म ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकसँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यसहित कन्सर्ट शृङ्खला घोषणा गरेको हो।
सार्वजनिक तालिकाअनुसार कन्सर्ट माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा सञ्चालन हुनेछ। कन्सर्टका सबै कार्यक्रमहरूमा फिल्मका प्लेब्याक गायक केहरसिं लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले लाइभ प्रस्तुति दिनेछन्। युवापुस्तामाझ लोकप्रिय केहर र उनको ब्यान्डको प्रस्तुति फिल्म प्रवर्द्धनका मुख्य आकर्षणका रूपमा रहने जनाइएको छ।
फिल्मका यसअघि सार्वजनिक दुई गीत ‘कता छौ …’ र ‘तिमी बिना …’ दर्शकमाझ चर्चामा छन्। निर्माण पक्षका अनुसार कन्सर्ट सुरु हुनुअघि लोकलयमा आधारित अर्को नयाँ गीत पनि सार्वजनिक गरिने तयारी गरिएको छ। फिल्मका सबै गीतमा केहरसिं लिम्बुको स्वर समावेश छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथानक फिल्म निर्देशन गरिसकेका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुँदैछ। फिल्मले विशेषगरी युवा दर्शकलाई लक्षित गरेको निर्माण पक्षको भनाइ छ। फिल्ममा नयाँ कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिनेछन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। डिजिटल वितरण मोसन पिक्चर्सले गरेको यस फिल्मको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्ने जनाएको छ।