सुचना, समाचार र मनोरन्जन

रोज ब्युटी एकेडेमीको २४ औँ वार्षिक उत्सवमा पुगे अभिनेता भुवन केसी, ७० जना ब्युटिसियन भए दीक्षित

काठमाडौँ :

राजधानीको रवि भवनमा विगत २४ वर्षदेखि सञ्चालन हुँदै आएको रोज ब्युटी एकेडेमीको २४ औ वार्षिक उत्सव मनाएको छ । सो वार्षिक उत्सवमा पुर्व चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको उपस्थिति रह्यो।

उनी उत्सव समारोहमा प्रमुख अतिथिका रुपमा त्यहाँ पुगेका हुन्। उनीसँथै गणेशमान सिंह स्मृति बहुप्राबिधिक शिक्षालयका प्रमुख डाकुरनाथ (डिएन) पराजुली थिए अतिथि रहेका थिए। उक्त समारोहमा रोज एकेडेमीको प्रबन्ध निर्देशक एवम् गणेशमान सिंह स्मृति बहुप्राबिधिक शिक्षालयकी प्राध्यापक कस्मोलोजिस्ट परिषी कारंजितले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्। सो एकेडेमीबाट ब्युटी सम्बन्धी एक वर्षीय डिप्लोमा उत्तीर्ण गरेका बहुसङ्ख्यक र सो एकेडेमी मार्फत सिटिईभिटीबाट लेवल वान र लेवल टुको परिक्षा समेत उत्तीर्ण गरेका केहीसहित ७० जना ब्युटिसियनहरुलाई कार्यक्रम दीक्षान्त एवम् प्रमाणपत्र समेत प्रदान गरियो।

२४ औँ वार्षिक उत्सव समारोहमा स्वागत मन्तव्य राख्दै रोज ब्युटी एकेडमीकी अध्यक्ष सोनी कारंजितले २४ वर्ष अघि कोठाबाट सुरु गरेको पार्लर आज चार तले भवनमा एकेडेमीको रूपमा सञ्चालन गर्न सफल भएको जानकारी गराइन् । यो अवधिमा आफूले करिब १५ हजार पुरुष तथा महिलालाई ब्युटिसियन तथा अन्य सिपमूलक प्रशिक्षण रोज ब्युटी एकेडेमी र रोज सिप विकाश तालिम केन्द्रबाट दिएर उनीहरूलाई स्वदेश तथा विदेशमा दक्ष रूपमा सेवा गर्न सफल बनाएको पनि बताइन।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष सोनीले भनिन्,‘ म र मेरो परिवारको मेहनत र मेरा हजारौँ विधार्थीहरुको साथ सहयोग एवम् मायाले आज रोज ब्युटी एकेडेमी २४ औँ वार्षिक उत्सव मनाउन सफल भएको छ । विगत जस्तै यस पटक पनि प्रमुख अतिथिको रूपमा साथ पाएकोमा बरिष्ट अभिनेता भुवन केसीसँगै प्रिन्सिपल डिएन पराजुलीलाई पनि धन्यवाद ज्ञापन गर्दछु ।’

आफूलाई यो क्षेत्रमा आउन परिवारले सुरुका दिनमा अनुमति नदिए पनि आफूले गरेको प्रगतिबाट अहिले परिवारका सबै खुसी भएको पनि सोनीले बत्ताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै अग्रज अभिनेता भुवन केसीले नेपालमा यति धेरै विधार्थीहरुलाई ब्युटी तथा अन्य सिपमूलक शिक्षा दिएर रोजगार मूलक बनाउनु सोनीको प्रशंसनीय कार्य भएको बताए । छोरी परिषीलाई समेत ब्युटी तथा कस्मेटिक क्षेत्रमा ल्याएर सोनीले अझ राम्रो काम गरेको पनि उनले बताए । नेपालको एक मात्र कस्मोलोजिष्ट परिषी कारंजितलाई पनि यो क्षेत्रमा आएकोमा शुभकामना दिँदै उनले नेपालको कस्मोलोजी क्षेत्रमा परिषीको ठुलो योगदानका आशा आफूले गरेको बताए।

यस्तै कार्यक्रममा गणेशमान सिंह स्मृति बहुप्राबिधिक शिक्षालयका प्रमुख डाकुरनाथ (डिएन) पराजुलीले सोनी कारंजितलाई २४ औँ वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दै नेपालमा सौन्दर्यकलाको विकासमा रोज ब्युटी एकेडेमीको अतुलनीय योगदान रहेको बताए । उनले गत वर्षबाट आफ्नो शिक्षालयले पनि तीन वर्षीय ब्युटी एन्ड कस्मोलोजिष्ट साईन्सका प्राध्यापन सुरु गरेको जानकारी गराए। अग्रज गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले ब्युटी सम्बन्धी प्रशिक्षण दिने एकेडेमीमा रोज ब्युटी एकेडेमी अग्रणी स्थानमा रहेको बताए । यो एकेडेमीले धेरैलाई शिक्षा दिएर आत्म निर्भर बनाएको भन्दै क्षत्रीले २४ औँ वार्षिक उत्सवको शुभकामना दिए।

यस्तो नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पनि रोज ब्युटी एकेडेमीलाई २४ औँ वार्षिक उत्सवको शुभकामना दिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं अभियानका अध्यक्ष नकुल गिरी, सचिव अन्जना श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र गिरी, लायन्स क्लव अफ काठमाडौं चन्द्रागिरि सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, कालज क्रियसनकी अध्यक्ष एवम् फेशन डिजाइनर काजल शर्मा, पत्रकार गोपीकृष्ण चापागाईँलगायतले पनि २४ औँ वार्षिक उत्सवको शुभकामना व्यक्त गरे ।

समारोहमा २४ औ वार्षिक उत्सवको अवसरमा केक काटेर शुभकामना आदान प्रदान कार्यक्रमलाई समापन गरिएको थियो । सो वार्षिक उत्सव समारोहलाई सञ्चारकर्मी एवम् गायिका विष्णुमाया पौडेलले सञ्चालन गरेकी थिइन्। अन्त्यमा रोज ब्युटी एकेडेमीकी प्रबन्ध निर्देशक एवम् कस्मोलोजिष्ट परिषी कारंजितले सबैलाई शुभकामना ज्ञापन गरिन्।
तस्बिर : बद्री थापा,

Leave A Reply

Your email address will not be published.