सुचना, समाचार र मनोरन्जन

जिउँदो देवता र सम्बन्ध विच्छेदको चपेटामा परेका बालबालिका

 उमेश केसी,

धार्मिक शास्त्रहरूले आमालाई पहिलो, पितालाई दोस्रो, र गुरुलाई तेस्रो स्थानमा राख्दै “जीवित देवता” को रुपमा उच्च सम्मान प्रदान गरेका छन्। यो केवल धर्मशास्त्रीय आदेश मात्र होइन—यो मानव अस्तित्वकै मेरुदण्ड हो, जसको जरा माया, त्याग, सहनशीलता र जिम्मेवारीमा बाधेको छ ।

आमा–बुबा हुनु केवल अधिकार होइन, एक गहिरो धर्म हो । आमा–बुबा भन्नाले केवल जन्म दिने पात्रलाई बुझिँदैन। ती त सन्तानको जीवनका निर्माता हुन्—जो दिन–रात नभनी खटिन्छन्, आफैं भोकै बसेर पनि छोराछोरीलाई खुवाउँछन्, । आफैं अशिक्षित भएर पनि आफ्ना सन्तानलाई शिक्षित बनाउने सपना देख्छन्। त्यस्तै गहन समर्पणका कारण हाम्रो संस्कृतिले उनीहरूलाई जिउँदो भगवान को स्थान दिएको हो।

तर आजको समाजमा यस्ता पवित्र सम्बन्धहरू आफैं संकटमा परेका छन्। सम्बन्ध विच्छेद (डिभोर्स) का घटनाहरू डरलाग्दो दरले बढिरहेका छन्। र दुःखद यथार्थ के छ भने—त्यसको गहिरो असर अबोध बालबालिकाको मन–मस्तिष्कमा पर्दै गएको छ।

आज श्रीमान्–श्रीमतीहरू व्यक्तिगत स्वतन्त्रता, आत्मिक शान्ति वा ‘इगो’को कारण देखाउँदै विवाह विच्छेदको निर्णयमा पुग्छन्। तर जब परिवारमा सन्तान हुन्छन्, तब त्यो निर्णय केवल दुईजनाको हुँदैन—ती निर्दोष सन्तानको जीवनसँग समेत गाँसिएको हुन्छ।

कतिपय बालबालिकाहरुको बाल्यकालमै आमा–बुबाको विघटनका कारण, बच्चाहरू आमाबुबाको माया, सुरक्षा र साथबाट वञ्चित हुन्छन् र उनीहरूको नाजुक मानसिकतामा गहिरो घाउ बस्छ भने कतिपयमा आत्महीनता र आत्मविश्वासको कमी प्रष्ट देखिन्छ। यस्ता बालबालिकाहरुको भविष्यमा सम्बन्धप्रति भय, आक्रोश वा अलगावको भावना पलाउन सक्छ।

स्वस्तिकाको कथाः जब आमाबुबाले धर्म भुल्छन्

१३ वर्षअघि सडकमा परित्याग गरिएकी नाबालिका स्वस्तिका को कथा कुनै सामान्य घटना होइन। आफ्ना जन्मदाताबाटै त्यागिएको त्यो जीवनले आज समाजलाई एक कठोर प्रश्न सोधिरहेको छ—आमाबुबा जस्तो पवित्र दर्जा पाएका व्यक्तिहरू पनि यसरी निर्दयी कसरी बन्न सक्छन्? उनले पाउने प्रेम, सुरक्षाको अधिकार गुमाउनु पर्‍यो। उनी दोषी थिइनन्—तर दण्ड उनले भोग्नुपर्‍यो। स्वस्तिकाको पीडा केवल व्यक्तिगत पीडा होइन—यो समग्र समाजको सामूहिक असफलता हो। जब जीवनसाथी मात्र होइन, अभिभावक पनि बन्ने जिम्मेवारी आउँछ सन्तान जन्माउनु एउटा सहज प्रक्रिया जस्तो देखिए पनि, त्यसपछि सुरु हुने अभिभावकत्वको यात्रा भने एक गम्भीर धर्म हो। यो घटनाले त्याग र समर्पणको माग गर्छभने क्षमा र समझदारीको खाँचो देखाउँछ। साथै यस्ता घटनाहरुले समाजान दीर्घकालीन सोच र मनोवैज्ञानिक परिपक्वताको अपेक्षा गर्छन ।

तर जब श्रीमान्–श्रीमतीले केवल व्यक्तिगत भावना हेरेर निर्णय गर्छन्, सन्तानको भविष्य र भावनालाई उपेक्षा गर्छन्—त्यो क्षण देवत्व भंग हुने क्षण हो।

अन्त्यमाः
सन्तान जन्माएर मात्र अभिभावक बन्न सकिन्न, कर्तव्य निर्वाह गर्न सक्नुपर्छ। आमा–बुबा बन्ने निर्णय सँगसँगै, जीवनभर जिम्मेवारी वहन गर्ने तत्परता पनि हुनुपर्छ। सम्बन्ध जोगाउन सकिएन भने पनि, सन्तानको मन जोगाउन सकियोस्। थोरै माया, केही समझदारी, र समयमै संवादले ठूलो पीडाबाट बच्न सकिन्छ। समाजले, सरकारले र सिङ्गो मानवताले सन्तान–केन्द्रित चेतना फैलाउनु आजको आवश्यकता हो। बाल्यकालमा आमाबुबाको साथ र माया पाउँछ, उसैमा उज्वल भविष्यको बीउ हुन्छ।

“आमाबुबाको महिमा बचाऔं—समर्पण, सेवा र ममताका साथ”

Leave A Reply

Your email address will not be published.