पोखरा,
नेपाली मौलिक पोशाक, स्थानीय उत्पादन र उद्यमशीलतालाई बजारसँग जोड्दै आएका व्यवसायी राम कँडेल पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला कार्यसमिति सदस्य पदका उम्मेदवार बनेका छन्।
विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय कँडेलको पछिल्लो व्यवसायिक पहिचान ‘राष्ट्रिय पोशाक घर’ बनेको छ। नेपाली मौलिक पोशाक, स्थानीय सीप र परम्परागत पहिरनलाई आधुनिक बजारसँग जोड्ने उद्देश्यले सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरमा ढाका, खादी, अल्लो लगायत नेपाली मौलिक कपडाबाट तयार गरिएका विभिन्न पोशाक उपलब्ध छन्।
परम्परागत नेपाली पोशाकलाई आधुनिक डिजाइन, गुणस्तरीय उत्पादन र व्यवसायिक प्रस्तुतिमार्फत नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य रहेको कँडेल बताउँछन्। उनका अनुसार नेपाली पोशाकको संरक्षणलाई सांस्कृतिक विषयमा मात्र सीमित नगरी स्थानीय उत्पादन, रोजगारी, सीप विकास र उद्यमशीलतासँग जोड्न आवश्यक छ।
राष्ट्रिय पोशाक घरमार्फत नेपाली मौलिक पोशाकको प्रवर्द्धनसँगै स्वदेशी उत्पादन प्रयोग गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
कँडेल ‘Easy Groups’मार्फत पनि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन्। समूहअन्तर्गत Easy Facilities, Easy Trading, Easy Hospitality, Chautari Boutique Hotel, Gorkhaland Security Group तथा Chautari International लगायतका व्यवसाय सञ्चालनमा रहेका छन्।
हस्पिटालिटी, होटल तथा पर्यटन, मानव संसाधन तथा स्टाफ आउटसोर्सिङ, हाउसकिपिङ तथा क्लिनिङ सामग्री, सुरक्षा सेवा र अस्पतालसम्बन्धी उपकरणलगायतका क्षेत्रमा काम गरेको अनुभवले निजी क्षेत्रका विविध समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर मिलेको कँडेल बताउँछन्।
पोखरा उद्योग वाणिज्य संघमा समेत कँडेलको लामो संलग्नता रहेको छ। उनले संघको २०७५–७९ र २०७९–८३ कार्यकालमा कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। संघमा रहेर काम गर्दा व्यवसायीका समस्या, नीतिगत विषय तथा सरकारी निकायसँगको समन्वयलाई नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ।
यसपटकको उम्मेदवारीमार्फत युवा उद्यमशीलता, व्यवसायमैत्री नीति, डिजिटल व्यवसाय, पर्यटन तथा हस्पिटालिटी क्षेत्रको विकास, स्थानीय उत्पादनको बजार विस्तार र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने कँडेलले बताएका छन्।
पोखराको आर्थिक विकासका लागि ठूला लगानीसँगै साना तथा मझौला व्यवसाय, स्थानीय उत्पादन, परम्परागत सीप र नयाँ पुस्ताको उद्यमशीलतालाई समेत समान रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।
सामाजिक क्षेत्रमा समेत सक्रिय कँडेल लायन्स क्लब अफ पोखरा गार्डेनका पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्य हुन्।
‘एकता, नेतृत्व र प्रतिबद्धता—समृद्ध व्यवसाय, समृद्ध पोखरा’ भन्ने नारासहित चुनावी मैदानमा रहेका कँडेलले आफूले हासिल गरेको व्यवसायिक अनुभव र संघमा काम गरेको संस्थागत ज्ञानलाई व्यवसायीको हितमा उपयोग गर्न चाहेको बताएका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत भदौ २० र २१ गते हुने निर्वाचनमा कँडेल खुला कार्यसमिति सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन्।