काठमाडौँ,
भारतले नेपालका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट बिजुलीको निर्यात अनुमति नवीकरण गरेको छ ।
अनुमति नवीकरण भएसँगै वर्षायाममा बिजुली निर्यात रोकिने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकाल भारतले केही दिनअघि मात्रै चार आयोजनाबाट उत्पादन भएका विद्युत निर्याताको लागि नवीकरण गरेको बताउँछन् । उनका अनुसार भारतले माथिल्लो चमेलिया ३८.८ मेगावाट, सेती नदी २४.२५ मेगावाट, माथिल्लो दोर्दी ए २४.२५ मेगावाट र माथिल्लो तादीखोला १०.७० मेगावाट आयोजनाबाट उत्पादित विद्युत निर्यातको लागि नविवरण गरेको छ ।
प्रवक्ता ढकालका अनुसार भारतले नविवरण गरेका चार आयोजनाहरूको निर्यात अनुमति गत जुनदेखि अगस्ट महिनाभित्र सकिएको थियो । मुख्य निर्यातको सिजनमै भारतले गत साता अनुमति नवीकरणको जानकारी गराएपछि अब निर्यात प्रक्रिया सहज रूपमा अघि बढ्ने उनको भनाई थियो ।
प्रवक्ता ढकालका अनुसार अहिले पनि विद्युत प्राधिकरणले भारततर्फ दैनिक औसत ६०० मेगावाट बिजुली निर्यात गरिरहेको छ । नेपालले वर्षायाममा आन्तरिक खपतपछि बचेको बिजुली भारत र बंगलादेशमा बेच्ने तथा हिउँदमा भारतबाटै आयात गर्ने गर्दै आएको छ ।

बिजुली खरिद र बिक्री दुवैका लागि हरेक वर्ष भारतसँग अनुमति नवीकरण गर्नुपर्ने बाध्यताका कारण नेपालको ऊर्जा व्यापार भारतीय नीतिमा निर्भर रहनुपरेको छ । यसअघि भारतले आगामी पुससम्मका लागि ढल्केबर–मुजफ्फरपुर र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत ६५४ मेगावाट बिजुली आयातको अनुमति नवीकरण गरिदिए पनि निर्यातको भने रोकिएको थियो ।
बाढीका कारण निर्यातमा अवरोध
एकतर्फ निर्यात अनुमति नवीकरण भए पनि भोटेकोशी बाढीका कारण समग्र बिजुली निर्यात भने प्रभावित बनेको छ । हालैको बाढीपहिरोले भारत र बंगलादेश निर्यातका लागि स्वीकृत त्रिशूली, चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि बंगलादेशतर्फको बिजुली निर्यात रोकिएको छ ।
तर प्राधिकरणले बंगलादेशतर्फको बिजुली निर्यातका लागि अन्य दोर्दी करिडोका आयोजनाहरुबाट निर्यातका लागि भारतसँग छलफल गरिरहेको छ ।
क्षतिग्रस्त देवीघाट आयोजनाको सट्टा भारतकै खुला बजारमा स्वीकृति पाइसकेको तल्लो मोदी आयोजनाको बिजुली द्विपक्षीय सम्झौतामार्फत निर्यात गर्न प्राधिकरणले अनुमति मागे पनि भारतले अहिलेसम्म स्वीकृति दिएको छैन । यसबाहेक काबेली बी–१ र सोलुखोला आयोजनाको बिजुली बंगलादेश बिक्री गर्नका लागि पनि भारतबाट अझै अनुमति पाउन नसकेको प्राधिकरणले जनाएको छ ।
हालसम्म नेपालले ३७ वटा आयोजनाबाट कुल १ हजार २०० मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने अनुमति पाएको छ । तर, पछिल्लो बाढीपहिरोले करिब ४३० मेगावाट क्षमताका विभिन्न आयोजनाहरूमा क्षति पुर्याई उत्पादन ठप्प हुँदा भदौ महिनामा बिजुलीको निर्यात परिमाणमा कमी आएको प्राधिरकणले जनाएको छ ।