काठमाडौं/
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको मागमा हुने उतारचढावलाई सम्बोधन गर्न पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथामिकता दिने भएको छ । वर्षायाममा बिजुली धेरै हुने र हिउँदमा अभाव हुने समस्याको समाधानका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनालाई प्राथामिकता दिन लागेको प्राधिकरणले जनाएको छ ।
पम्प स्टोरेज आयोजनामा तलको पानी तानेर माथिल्लो जलाशयमा भण्डारण गरी बिजुलीको माग उच्च भएको बेला प्रयोग गरिन्छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी एक सय ५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको छ । त्यसमध्ये ४२ हजार मेगावाट क्षमताका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरेको प्राधिकरणले जनाएको छ ।
रुकुम (पश्चिम)मा रहेको स्यार्पु तालमा तीन सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि दुई सय मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।