सुचना, समाचार र मनोरन्जन

निर्वाचनको प्रभावः बेनिशा–नरेन अभिनित ‘बिगुल’ प्रदर्शन स्थगित

काठमाडौं :

अभिनेत्री बेनिशा हमाल र अभिनेता नरेन खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘बिगुल’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालि ले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्म प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको हो। सम्बन्धित निकायको सुझाव तथा वर्तमान परिस्थितिको मूल्यांकनपछि उक्त निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ।

फिल्मका कलाकार हमाल र खड्काको अभिनयलाई लिएर हलमा सकारात्मक प्रतिक्रिया आइरहेका बेला अचानक प्रदर्शन रोकिएको हो। दर्शकमाझ उत्साहजनक चर्चा पाइरहेको समयमा प्रदर्शन स्थगित हुनुले कलाकार पक्ष पनि प्रभावित बनेको छ।

निर्देशक रमेश कोइराला को निर्देशनमा बनेको ‘बिगुल’ सामाजिक–राजनीतिक पृष्ठभूमिमा आधारित फिल्म हो। निर्माण पक्षले नयाँ प्रदर्शन मिति छिट्टै घोषणा गर्ने जनाएको छ। निर्माताले प्रदर्शन स्थगितबाट दर्शक, कलाकार, प्राविधिक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै साथ र समर्थनप्रति आभार व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.