सुचना, समाचार र मनोरन्जन

उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की,

पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

आभा क्लबले कठिन जित निकाल्ने क्रममा खेलको ५६ औँ मिनेटमा ‘खेलको प्लेयर अफ दी म्याच’ घोषित उमिदजोन करिलोभ गरेको गोल निर्णायक बन्यो । डिबक्सभन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले सिधै चाली चुमेको थियो । खेलमा प्लानिङले समेत गोलका केही सुन्दर मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार आयोजक टोली सहारा क्बल पोखरा र मनाङ मस्र्याङदी क्लबले फाइनल प्रवेशका लागि प्रतिपस्पर्धा गर्नेछन् । यसैगरी पाहुना टोली आभा एफसीले दोस्रो सेमिफाइनलमा बिहीबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

गत माघ २७ गतेदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.