काठमाडौं :
बलिउड फिल्म अता पता लापता सँग जोडिएको ऋण प्रकरणले निर्माता–अभिनेता राजपाल यादव लाई जेलसम्म पुर्याएको छ। चेक बाउन्स मुद्दामा उनी ११ दिन तिहाड जेल मा बसेपछि दिल्ली उच्च अदालत ले सर्तसहित १८ मार्चसम्मका लागि अन्तरिम जमानत दिएको हो।
भारतिय मिडियाका अनुसार अदालतले डेढ करोड भारतीय रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन आदेश दिएपछि यादव रिहा भएका हुन्। अब मुद्दाको अर्को सुनुवाइ १८ मार्चमा हुने छ।
‘अता पता लापता’ ५ करोड ऋणमा निर्माण,उठायो ५० लाख
सन् २०१० मा यादवले मुरली प्रोजेक्ट्स नामक कम्पनीबाट पाँच करोड भारतीय रुपैयाँ ऋण लिएर ‘अता पता लापता’ निर्माण गरेका थिए। फिल्मको निर्देशन र मुख्य भूमिका स्वयं उनले नै सम्हालेका थिए भने निर्माण उनकी पत्नी राधा यादवले श्री नौरंग गोदावरी इन्टरटेनमेन्टको ब्यानरमा गरेकी थिइन्।
११ करोड रुपैयाँ लागतमा बनेको फिल्म बक्स अफिसमा नराम्ररी असफल भयो। यसले ५० लाख रुपैयाँसमेत संकलन गर्न नसकेपछि यादव आर्थिक संकटमा परे। लिएको ऋण तिर्न नसक्दा भुक्तानीका लागि दिइएको चेक बाउन्स भयो र कम्पनीले उनीविरुद्ध मुद्दा दर्ता गर्यो।
सन् २०१८ मा तल्लो अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो। पछि उच्च अदालतमा पुगेको मुद्दामा ऋण तिर्ने प्रतिबद्धतापछि सजायमा रोक लगाइएको थियो। तर, प्रतिबद्धता पूरा नगरेको भन्दै अदालतले फेब्रुअरी ४ मा आत्मसमर्पण गर्न आदेश दिएको थियो। त्यसपछि यादव फेब्रुअरी ५ मा तिहाड जेल पुगेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुरली प्रोजेक्ट्सलाई सहमति बमोजिम करिब ९ करोड भारतीय रुपैयाँ तिर्न बाँकी रहेको छ। यस प्रकरणले ‘अता पता लापता’लाई फेरि एकपटक चर्चाको केन्द्रमा ल्याएको छ।