सुचना, समाचार र मनोरन्जन

पूर्वराष्ट्रपति रामवरण यादवले हेरे ‘बिगुल’, भने– “समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्छ”

काठमाडौं :

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले फिल्म ‘बिगुल’ हेर्नुभएको छ । नेपाली समाजमा मौलाउँदै गएको भ्रष्टाचार, राजनीतिक विकृति, प्रशासनिक बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाएको फिल्म ‘बिगुल’को मंगलबार राजधानीमा विशेष प्रदर्शन गरिएको हो ।

विशेष प्रदर्शनमा पूर्वराष्ट्रपति डा. यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

फिल्म हेरेपछि पूर्वराष्ट्रपति डा. यादवले यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भन्दै ‘बिगुल’ समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै समयपछि हलमा पुगेर नेपाली फिल्म हेरेको उल्लेख गर्दै देशको वास्तविकता बोल्ने फिल्म भनेर सुनेपछि आफू हलसम्म आएको बताए ।
“धेरै वर्षपछि हलमा आएर नेपाली चलचित्र हेरेको हुँ । देशको यथार्थ बोल्ने फिल्म भनेर सुनेपछि हेर्न आएको हुँ । वास्तवमै ‘बिगुल’ अत्यन्त उत्कृष्ट, यथार्थवादी र सन्देशमूलक फिल्म रहेछ,” उनले भने ।

त्यस्तै, गगन थापाले ‘बिगुल’लाई परिवर्तनको ऐना भएको टिप्पणी गर्दै यो फिल्मले युवा पुस्तालाई सोच्न बाध्य बनाउने र समाज रूपान्तरणको अभियानलाई थप बल पुर्‍याउने विश्वास व्यक्त गरे ।
“यो केवल मनोरञ्जनका लागि बनेको फिल्म होइन, देशको यथार्थ बोल्ने चलचित्र हो,” उनले भने ।

विशेष प्रदर्शनमा उपस्थित विशिष्ट तथा बौद्धिक व्यक्तित्वहरूले पनि फिल्मले उठाएको विषयवस्तु, प्रस्तुतिकरण र सन्देश निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।

दिनेश कोइरालाको कथा तथा निर्माण रहेको ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको हो । जेन्जी आन्दोलनको माहोल बन्नुअघि नै निर्माण गरिएको फिल्मले देखाएको राजनीतिक अस्थिरता, राज्य संयन्त्रभित्रको अव्यवस्था र जनआक्रोश अहिलेको नेपालको अवस्थासँग आश्चर्यजनक रूपमा मेल खाने दर्शकहरूको प्रतिक्रिया थियो । धेरैले यसलाई “समयभन्दा अगाडि बनेको चेतनाको आवाज” भनेर टिप्पणी गरेका छन् ।

अधिकांश अतिथिहरूले ‘बिगुल’लाई नेपालको वर्तमान अवस्थाको निर्भीक र यथार्थ चित्रण गर्ने साहसी फिल्मका रूपमा व्याख्या गरेका छन् । फिल्मले समाजमा जरा गाडेर बसेको भ्रष्टाचार, राजनीतिक स्वार्थ, प्रशासनिक विकृति र जनताले भोगिरहेका पीडालाई स्पष्ट रूपमा प्रस्तुत गरेको भन्दै खुलेर प्रशंसा गरिएको थियो ।

विशेष प्रदर्शनमा सहभागी बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूले पनि ‘बिगुल’ले नयाँ बहस सिर्जना गर्ने बताएका छन् । अहिलेको पुस्ताले खोजिरहेको यथार्थवादी सिनेमा ‘बिगुल’ भएको प्रतिक्रिया धेरैले दिएका थिए ।

कथाकार तथा निर्माता दिनेश कोइरालाले समाज परिवर्तनको उद्देश्यसहित फिल्म निर्माण गरिएको बताए । “‘बिगुल’ कुनै व्यक्ति वा दलविरुद्ध नभई देशमा मौलाएको विकृति, अन्याय र भ्रष्ट प्रवृत्तिविरुद्ध उठाइएको कलात्मक आवाज हो,” उनले भने, “फिल्म समाजको ऐना हो, र ‘बिगुल’ले यही ऐनामा आजको नेपालको अनुहार देखाएको छ ।”

आगामी जुन २६ देखि फिल्म अष्ट्रेलियाका विभिन्न शहरहरूमा पनि प्रदर्शन गरिने तयारी गरिएको छ। नेपालमा पुनः रिलिजको मिति भने केही समयपछि तय गरिने निर्माण टिमले जनाएको छ ।

गत निर्वाचनभन्दा केही दिनअघि अर्थात् १ फागुनमा प्रदर्शनमा आएको फिल्म चार दिनमै हलबाट हटाइएको थियो। फिल्ममा बेनीशा हमाल, नरेन खड्का, जेएन घिमिरे, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, मीरा पण्डित, मान्सी शर्मा, रबिन्द्र खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.