काठमाडौं :
भदौ ६ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजरले छोटो समयमा उल्लेखनीय दर्शक पाएको छ। युट्युबमा सार्वजनिक भएको २ मिनेट १५ सेकेन्डको टिजरलाई १२ लाखभन्दा बढी दर्शकले हेरेका छन् भने सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्।
टिजर सार्वजनिक भएको केही घण्टामै युट्युबमा दर्शकहरूले विजय बरालको सशक्त अभिनय, सामाजिक विषयवस्तु र कोरियामा रोजगारीका लागि जाने नेपाली युवाको कथालाई केन्द्रमा राखिएको भन्दै प्रशंसा गरेका छन्।
‘फिल्म असाध्यै राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्ण विश्वास लागेको छ’,भनेर युट्युबमा एक दर्शक कबिन्द्र श्रेष्ठ ले लेखेका छन्। मोहित सिरपाइली नामक अर्का दर्शकले,‘यस्तै सामाजिक कथा र देशका जनताको बेथा दर्शाउने चलचित्र बनाए पो चल्छ’, भन्दै शुभकामना दिएका छन्।
फिल्मका निर्देशक हिमाल न्यौपानेले दर्शकको सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको जनाएका छन्। ‘कथा र पात्रको छनोट दर्शकको मन परेको देखिन्छ। अब फिल्मले पनि त्यो स्तर कायम गर्नुपर्ने चुनौती छ’,निर्देशक न्यौपानेले बताए। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा र सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ। बराल हालै मात्र चलचित्र ‘पूर्णबहादुरको सारंगी’ बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्।
भानुभक्त ढकाल द्वारा लेखिएको कथा, पटकथा र संवादमा आधारित यो फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटी को संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। पेपरक्लिपको ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्माता कमल न्यौपाने र विमल न्यौपाने, कार्यकारी निर्माता नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
यस फिल्मको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ। भदौ ६ गते देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको यो चलचित्रलाई यस वर्षको प्रमुख सामाजिक कथामा आधारित फिल्म मानिँदैछ।