सन्तोष बस्याल, पोखरा /
बागलुङ जैमनी नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन् विक्रम नेपाली । जो अहिले पोखरामा रमाइरहेका छन् । पढाईमा उनको खासै रुची भएन । त्यसैले त कक्षा ५ पढ्दा पढ्दै चटक्कै छाडे । घरपरिवारको अवस्था पनि नाजुक थियो । बिहान बेलुका छाक टार्न दरिलो संघर्ष गर्नुपथ्र्यो । जुन आज पनि कायम नै छ ।
परिवारको गर्जो टार्नकै लागि विक्रम भारत सम्म पुगे । केही समय त्यहाँको होटलमा काम गर्ने अवसर मिल्यो । तर विडम्बना आम्दानी सोचेजस्तो भएन । परिवारको परको कुरा आफैलाई समेत समस्या पर्न थाल्यो । पराई मुलुक त्यसमाथि चिनेजानेका कम, सहयोग गर्ने समेत कोहि भएन । त्यसपछि विक्रम नेपाल फर्किए ।
केही समयको घरबसाई पछि उनको दिमाखमा पोखरा आएर केही न केही इलम गर्ने सोच पलायो । पारिवारिक सल्लाह पश्चात उनी आज भन्दा १५ महिना अगाडि पोखरा आए । विक्रम जागिर गर्न चाहन्नथे । त्यसैले त होला उनले रातको समयमा चिया बेच्ने निधो गरे । त्यो पनि लेकसाइडको फुटट्रयाकमा ।
रातभर चिया बेच्ने, दिउँसो आराम गर्ने उनको दैनिकी बन्यो । जुन आज पनि कायम नै छ । लेकसाइड फुटट्रयाकमा चिया बेचेर नै विक्रम महिनाको २० देखि २५ हजार कमाउँछन । भन्छन्,“अर्काको जागिर गर्या भए यति रकम पाउन्नथे । आफ्नै इलमबाट सन्तुष्टि मिलेको छ । दिउँसो आराम गर्छु रातभर चिया बेच्छु ।”
उनी रातको १० बजेदेखि बिहान ६ बजेसम्म चिया बेच्छन् । त्यसपछि भने सिर्जनाचोक कोठामा आएर आराम गर्छन् । बुबा, आमा, भाई, श्रीमती र एक छोरीको जिम्मेबारीलाई विक्रमले काँधमा बोकेका छन् । विक्रमले चिया बेचेर नै परिवार पालिरहेका छन् भन्दा अत्युक्त नहोला । उनको जीन्दगी यसरी नै चलिरहेको छ ।
१० देखि १५ हजारको सानो लगानीबाट कसैको रोकटोक बिना नै मासिक रुपमा विक्रम राम्रो आम्दानी गर्छन् । उनी आफ्नो इलमबाट सन्तुष्ट छन् । उमेरले २५ पुगेता पनि उनको सोच पाको भइसकेको छ । भन्छन्, “काम गरेर खान केको लाज ? काम ठूलो सानो हुँदैन । काम काम हो । त्यसैले मलाई कुनै लाज छैन ।”
तस्बिर/सामाग्री : प्रेम थापा, परिचय