काठमाडौं :
फिल्म ‘रोल नं १’ को सार्वजनिक गीत ‘म्याग्दी रुमाले’ ले यतिबेला युट्युब र सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। रिलिज भएको छोटो समयमै यो गीत टिकटक र फेसबुक रिल्समा भाइरल भइरहेको छ। लोकलयमा आधारित यस रोमान्टिक डान्सिङ नम्बरमा दर्शकहरूले उत्साहजनक रूपमा टिकटक बनाइरहेका छन्।
प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको यस गीतमा सुष्मा सिग्देलको शब्द र प्रशान्त शिवाकोटीकै संगीत रहेको छ। गण्डकी प्रदेशको भाषा र लवजलाई समेटिएको यो गीतले दर्शकलाई पुरानो याद दिलाउँदै नोस्टाल्जिक बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ। विशेषगरी पर्वत र बागलुङ क्षेत्रका दर्शकहरूले आफ्नै परिवेशमा फिल्म खिचिएको भन्दै खुसी व्यक्त गरेका छन्। गीतको भिडियोमा अभिनेता विनोद न्यौपाने र जुना विश्वकर्माको अभिनय तथा नृत्यलाई दर्शकले निकै रुचाएका छन्।
जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’ ले मुख्यतया विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बालमस्तिष्कमा पार्ने प्रभावको कथा बोकेको छ। जोन योञ्जनको निर्देशनमा तयार भएको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्ममा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ बाल कलाकारको रूपमा देखिनेछन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्मलाई महेश दवाडीले लेखेका हुन् भने शिवराम श्रेष्ठको छायांकन रहेको छ। फिल्मको प्रचारका लागि अहिले कलाकारहरूको टोली मोफसल यात्रामा रहेको छ। निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मेवारी लिएका छन्।