सुचना, समाचार र मनोरन्जन

‘घर ज्वाइँ’ फेम्ड निर्देशक अनिलको नयाँ फिल्म ‘मितज्यू’ जेठ ८ मा आउने

काठमाडौं :

गत वर्षको ब्लकबस्टर फिल्म ‘घर ज्वाइँ’मार्फत ६ करोडको व्यापार गरेर चर्चामा आएका निर्देशक अनिल बुढा मगर फेरि नयाँ फिल्म ‘मितज्यू’ लिएर आएका छन्। ग्रामीण भेगका कथालाई कलात्मक ढंगले पर्दामा उतार्न सिपालु अनिलको यो दोस्रो फिचर फिल्म हो। फिल्मको सार्वजनिक ट्रेलरले नेपाली समाजमा प्रचलित मित लगाउने संस्कार र त्यसभित्र उत्पन्न हुने द्वन्द्वलाई मुख्य विषय बनाएको छ।

फिल्ममा मित लगाउने परम्परा, त्यसपछि निभाउनुपर्ने व्यवहार र एउटै युवतीका कारण दुई मितबीचको सम्बन्धमा आउने फाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। निर्देशक अनिलले फिल्मको कथालाई थप बलियो बनाउन प्रेम र सस्पेन्सलाई समेत सुटुक्क मिसाएका छन्। निर्माता जनक घर्ती मगरले फिल्ममा कथाका साथै मनोरञ्जन, प्रेम र द्वन्द्वको मिश्रण रहेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।

जेठ ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस फिल्ममा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईका साथै तेरिया मगर मुख्य भूमिकामा छन्। उनीहरूका साथै खड्गबहादुर पुन मगर (खबपु),शिशिर वाङ्देल,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायतको अभिनय रहेको छ।

जनक घर्ती मगरले निर्माण गरेको यस फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् भने शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ। नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको यथार्थपरक कथा भन्ने भएकाले ‘मितज्यू’ले धेरै दर्शकको मन जित्नेमा निर्माण टोली ढुक्क देखिएको छ।

Leave A Reply

Your email address will not be published.