काठमाडौं :
हरेक पात्रमा डुबेर अभिनय गर्न सक्ने क्षमता भएका अभिनेता विपिन कार्कीलाई ‘ऊनको स्वीटर’बाट निकै अपेक्षा रहेको छ। यसअघि प्रदर्शनमा आएको फिल्म ‘तेलभिसा’ र ‘कर्मा’ले सोचे अनुसारको व्यापार गर्न नसकेपछि यस फिल्मबाट अपेक्षा गरेका छन्।
उनका लागि यो फिल्म जिवनभर विर्षन नसक्ने गरिको यादगार बन्ने छ। यसअघि आफुले खेलेको फिल्म ‘हरि’,नाका’,‘सेल्फि किङ’,‘जात्रा’जस्तै उनका लागि यो ऊनको स्वीटर पनि बुढेशकालमा सम्झन लायक फिल्म बनेको दाबी गरे।
शनिबार पत्रकारसँगको कुराकानी उनले भने,‘मैले काम गरेका फिल्महरु भविष्यमा सम्झँदा यो फिल्म अग्रपंक्तिमै पर्नेछ। जसरी म ‘हरि’, ‘नाका’, ‘सेल्फी किंग’ र ‘जात्रा’लाई मेरा गर्व गर्न लायक फिल्म भन्न सक्छु, त्यसको उत्कृष्ट पाँचमा ‘ऊनको स्वीटर’ पनि पर्छ । चाहे फिल्मको नतिजा जेसुकै आओस्।’
उनको यो फिल्ममा खासै बोल्नुपर्ने दृश्य छैनन्। अरु भन्दा फरक भुमिकामा अभिनय गरेको उनको दाबी छ। एक काफ्ले पात्रमा उनको अभिनय यो फिल्ममा दर्शकले पाउने छन्।
उनी भन्छन्,‘मेरो चरित्र साधारण छ । धेरै नबोल्ने । मैले संवादमा रहेर धेरै फिल्म गरेको छु । यसमा भने एकदमै कम बोलेको छु । मनको कुरा कसैलाई नभन्ने खालको चरित्र छ । एक हिसाबले यो चरित्रमा गहिराइ छ।’
विपिनले आफ्नो भुमिकाबारेमा पनि प्रष्ट पारेका छन्। उनले अगाडि थपे,‘एउटा अलि अगाडिको कालखण्डको उमेर हुँदाको चरित्र छ, जसमा म जवान छु । अर्को चाहिँ जीवनलाई बुझिसकेपछिको चरित्र छ। यी दुईवटामा निकै ठूलो अन्तर छ । मान्छेलाई एउटा उमेरमा ठीक लागेको कुरा पछि त्यो गलत लाग्न थाल्छ भनेजस्तै मेरो चरित्रमा पनि त्यही देख्न पाइन्छ।’
उनका लागि यो फिल्म निकै सम्झन लायक फिल्म हो। फिल्मका निर्देशक नविन चौहानले पनि यो फिल्म अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘जारी’सँग कता कता मिलेको बताए। यो फिल्मको छायांकन जारीकै स्थानमा भएको हुनाले कलर आएको उनको भनाइृ छ। यस फिल्ममा विपिनका अलवा मिरुना मगरको मुख्य भुमिका रहेको छ।