सुचना, समाचार र मनोरन्जन

‘खुस्मा’का निर्देशकको फिल्म ‘जलाकी’मा जोडिईन् शिल्पा

काठमाडौं :

गत वर्षको हिट फिल्म ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा कलाकार थपिने क्रम जारी रहेको छ। अझ भनौँ यस फिल्मका लागि कलाकारहरुको ‘लाइनअप’ बलियो बनेको देखिन्छ।

खुस्माकै अभिनेत्री उपासना सिंह ठकुरी,धिरज मगरका अलवा यस फिल्ममा निर्देशक मगरले अभिनेता सोनम तोप्देनलाई अनुबन्ध गरेका छन्। भदौबाट फ्लोरमा जाने यो फिल्ममा निर्देशक मगरले अभिनेत्री शिल्पा मास्केलाई पनि अनुबन्ध गरेका छन्। यसै साता उनीहरुबीच लिखित सम्झौता भएको हो। अन्य कलाकारहरुमा आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायत रहेका छन्।

निर्देशक मगरले ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउने बताए। परिचियसँगको कुराकानीमा उनले केहि दिनअघि सो कुरा बताएका हुन्। अभिनेत्री मास्केले पछिल्लो समय फिल्म ‘देवी’मा अभिनय गरेकी थिइन्। उनी आफै निर्माता भएको यो फिल्म गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो। तर यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाउन सकेन।

यो फिल्ममा गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी आकृतिको यो डेब्यु फिल्म हो। यस फिल्मका निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।

शैलेन्द्र डि. कार्कीको डिओपी रहने यस फिल्मलाई नेपालसहित दक्षिण कोरियामा समेत छायांकन हुने निर्देशक मगरले बताए। उनका अनुसार नेपालबाहेक विदेशको पनि दृश्य समावेश गर्नुपर्ने भएकाले कोरियामा पनि छायांकन गर्न लागिएको हो। यस फिल्मको कथा पनि उनैले लेखेका छन्।

Leave A Reply

Your email address will not be published.