काठमाडौं :
नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा बढी समय योगदान दिएका ८६ जना चलचित्रकर्मीलाई सरकारले विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ।
चलचित्र विकास बोर्डको आयोजनामा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरूलाई औपचारिक रूपमा परिचयपत्र प्रदान गरे। बोर्डले केही समयअघि योग्य चलचित्रकर्मीबाट आवेदन आह्वान गरेको थियो। प्राप्त मागदाबीको अध्ययनपछि ८६ जनालाई परिचयपत्र प्रदान गरिएको बोर्डले जनाएको छ।
परिचयपत्र प्राप्त विशिष्ट चलचित्रकर्मीलाई १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा प्रदान गरिनेछ। अन्य चलचित्रकर्मी, जसले सामान्य परिचयपत्र पाउँछन्, तिनीहरूलाई ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा दिइनेछ।
परिचयपत्र पाउनेमा विश्व बस्नेत, सुनिल थापा, उपेन्द्र तिमल्सिना, रामकृष्ण बजगाईं, रमेश उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल लगायतका वरिष्ठ कलाकार तथा प्राविधिकहरू रहेका छन्। कार्यक्रममा संचारमन्त्री गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल, र विभिन्न चलचित्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा मन्तव्य दिँदै मन्त्री गुरुङले चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। “साना–साना कामको थालनी भइसकेको छ, अब आईटी र एआईजस्ता प्रविधिसँग चलचित्र क्षेत्रलाई अभ्यस्त बनाउनुपर्छ,” उनले भने।
सामाजिक सञ्जाल नियमनबारे पनि उनले स्पष्ट पारे, “अदालतको निर्देशन अनुसार अब सामाजिक सञ्जाल दर्ता अनिवार्य गरिएको छ। एक साताभित्र दर्ता गर्न अल्टिमेटम दिइएको छ।” त्यसैगरी उनले असोज १६ गतेलाई ‘चलचित्र दिवस’का रूपमा मनाउने निर्णय भइसकेको र यसलाई भव्य रूपमा मनाउन निर्देशन पनि दिएका छन्।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो कार्यकालको १० महिनामा बोर्डको ९३ प्रतिशत बेरुजु फछ्र्योट गरिएको बताएका छन्। उनका अनुसार, हाल बोर्डबाट प्रवाह हुने ३३ वटा सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा छन्।
उनले ६० वर्षदेखि अधुरो रहेको इनडोर फिल्म स्टुडियो निर्माण कार्य सुरु भएको जानकारी दिएका छन्। साथै, चलचित्र ऐन संसदको माथिल्लो सदनसम्म पुगेको र १६ वर्षदेखि अलपत्र रहेको बक्स अफिस प्रणाली सञ्चालनमा आएको जानकारी पनि दिए। परिचयपत्रलाई चलचित्रकर्मीको “सामाजिक र औपचारिक पहिचान तथा सम्मान”को प्रतीकका रूपमा सरकारले मान्यता दिएको अध्यक्ष डिसीले उल्लेख गरे।
कार्यक्रममा अभिनेता बुद्धि तामाङलाई विशेष योगदान सम्मान प्रदान गरिएको छ। साथै, लिम्बु भाषाको चलचित्र ‘चे’ र मगर भाषाको चलचित्र ‘दिलसरा’ लाई प्रत्येकलाई दुई लाख रुपैयाँको प्रोत्साहन रकम पनि हस्तान्तरण गरिएको छ। अन्त्यमा अध्यक्ष डिसीले चलचित्र उद्योगको विकास र चलचित्रकर्मीको सामाजिक–आर्थिक हैसियत बलियो बनाउनेतर्फ निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।