काठमाडौं :
चलचित्र विकास बोर्डका रिक्त रहेको सदस्य पदमा सन्तोष बाबु लोहनी नियुक्त भएका छन्। उनलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सदस्यमा नियुक्त भएका हुन्।
२०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनेताका रुपमा डेब्यु गरेका उनले ,‘जय विजय’मा अभिन गरेका छन्। त्यस्तै उनले २०५३ साल, अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनी मनिग्रामको व्यवसायिक विज्ञापन, अभिनय गरेका छन् भने २०५४ साल देखी २०६० साल सम्म राजेश पायल राई, कर्णदास, नारायण लामा लगायतका तत्कालिन प्रसिद्ध गायक सङ्गीतकारहरुका म्युजिक भिडियोमा अभिनय गरेका छन्।
नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘सप्तरङ्गी’को निर्माता एवम निर्देशकका रुपमा काम गरिसकेका उनले पछिल्लो समय थर्ड आइ युकेले आयोजना गर्ने अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२४ को जुरी मेम्बरमा रुपमा काम गरेको अनुभव छ। सदस्य नियुक्त भएपछि उनले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बोर्डमा अझै एकजना सदस्यको पद रिक्त छ। सदस्य राजु खत्री क्षेत्रीको कार्यकाल १८ चैतमा सकिदैछ।