काठमाडौं :
चलचित्र विकास बोर्डले १७८ जना सिनेकर्मीलाई परिचयपत्र वितरण गरेको छ। शुक्रबार बोर्डमा एक कार्यक्रमको आयोजनागरि २० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहदै आएका चलचित्रकर्मीहरुलाई सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो।
कार्यक्रमको अध्यक्षता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला रहेका थिए।सरकारी तवरबाट यो सम्मान पाउँदा चलचित्रकर्मीहरुको खुशी देखिन्थेँ। उनीहरु आफुले पाएको परिचय पत्र हातमा बोकेर बाहिर निस्किदा उनीहरुको मुहार उज्यालो देखिन्थ्यो।
‘एक वर्ष,१२–१४ महिनादेखि यो बोर्डमा छु। मसँग नेपाल सरकार लोगो अंकित एउटा कार्ड छ,’अध्यक्ष डिसीले आफ्नो भनुभव सुनाउँदै भने,‘जब स्वतन्त्र भएर मैले जीवनको ३४–३५ वर्ष काम गरे। त्यहि बेला त्यहि परिचयको ठुलो महत्व थियो। हामीसँग नेपाल सरकारको लोगो भएका कार्ड हामीसँग हुँदैन थियो। जुन संस्थासँग आवद्ध हुनुहुन्थ्यो,त्यहाँको हुन्थ्यो। जसलाई चाही अन्तराष्ट्रिय जगतले मान्यता दिदैन।’
उनले उदाहरण दिदै भने,‘निर्देशक समाजको कार्डलाई निर्देशक समाजले मान्यता दिन्छ संसारभरिकोले तर अर्को ठाउँमा मान्यता दिदैन।’
उनले नेपाल सरकारको लोगो सहितको कार्ड भएपछि हरेक ठाउँमा मान्यता हुने बताए। निर्देशक डिसी बोर्डमा आएपछि पछिल्लो समय निकै कामहरु भइरहेका छन्।
यसअघि तीन दशक भन्दा बढि समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको थियो। साथै आर्थिक वर्षदेखि विशिष्ट सिनेकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य सिनेकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको थियो। कार्यक्रममा बोर्डको हल भरिभराउ चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो।