पोखरा :
पोखरा महानगरपालिका–१५ स्यानीपाटन निवासी समाजसेवी मिना थापा भण्डारीले आफ्ना स्वर्गीय पिता कमल बहादुर थापाको स्मृतिमा दुर्घटनामा परी गम्भीर घाइते भएका युवा सन्दिप घर्तिको उपचारका लागि ८१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।
पोखरा–१५ मै स्थायी बसोबास गर्ने सन्दिप केही समयअघि दुर्घटनामा परी गम्भीर घाइते भएका हुन्। उनको निरन्तर उपचार भइरहेको भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च र आवश्यक औषधि जुटाउन समस्या हुँदै आएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै भण्डारीले व्यक्तिगत पहलमा सहयोग रकम उपलब्ध गराएकी हुन्।
घाइते सन्दिपलाई सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी भण्डारीले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा पीडितलाई सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको बताइन्। “आज मेरो स्वर्गीय बाबाको नाममा सबै जनाको साथ र सहयोगले गर्दा यो भाइलाई सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ। छिट्टै सन्चो होस् यो भाइलाई। भगवान्सँग मेरो यही प्रार्थना छ,” भण्डारीले भनिन्।
उनले सहयोगलाई केवल आर्थिक सहयोगका रूपमा नभई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका रूपमा लिएको बताइन्। दुःख र अप्ठ्यारोमा परेका व्यक्तिलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु नै स्वर्गीय बुबाप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ।
सहयोग प्राप्त गरेपछि सन्दिपको परिवारले उपचारका क्रममा प्राप्त भएको यस सहयोगले ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेको छ। परिवारका अनुसार उपचार र औषधिमा निरन्तर खर्च भइरहेकाले आर्थिक अभावका कारण थप उपचार अघि बढाउन कठिनाइ भइरहेको थियो। स्वर्गीय पिताको स्मृतिमा भण्डारीले गरेको यो मानवीय पहलले दुर्घटना पीडित सन्दिपको उपचारमा केही सहजता ल्याउनुका साथै समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनाको सकारात्मक सन्देशसमेत दिएको छ।