सुचना, समाचार र मनोरन्जन

एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम

पोखरा :

एन प्याब्सन कास्कीको आयोजनामा शुक्रबार छैटौँ अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रति रुचि अभिवृद्धि गर्ने, भाषिक ज्ञानको विकास गर्ने तथा उनीहरूमा आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा एन–प्याब्सनमा आबद्ध ३० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले अंग्रेजी भाषा, व्याकरण, शब्दावली,सामान्य ज्ञानलगायत विभिन्न विषयमा आधारित प्रश्नहरूको सामना गर्दै आफ्नो ज्ञान तथा क्षमता प्रस्तुत गरेका थिए।

Chaka Panja

प्रतियोगितामा हिलसाइड इंगलिस सेकेण्डरी स्कुल प्रथम त्रिवेणी पब्लिक मावि द्धितीय, कास्की मोडनईज्ड एकेडेमी तृतीय, लाविन रेसिडेन्सीयल स्कुल सान्त्वना तथा अञ्जुली आवसिय मावि र कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी फाइनलिष्ट भए। विजय विद्यालय तथा विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले विद्यालयमा हुने नियमित पठनपाठनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।

अंग्रेजी भाषा वर्तमान समयमा शिक्षा, सूचना प्रविधि, सञ्चार, रोजगारी तथा अन्तर्राष्ट्रिय सम्पर्कको महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै विद्यार्थीले अंग्रेजी भाषामा राम्रो दक्षता हासिल गर्नुपर्ने उनको भनाई थियो। उनले अंग्रेजी भाषाको ज्ञानले विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा तथा विभिन्न व्यावसायिक क्षेत्रमा अघि बढ्न थप अवसर प्रदान गर्ने बताए।

प्रतियोगितामा प्राध्यापक शशिधर बराल, नेल्टा कास्कीका अध्यक्ष प्राध्यापक भूमिराज पण्डीत, उप प्रध्यापक पुष्पराज तिमिल्सिना तथा कार्यक्रम संयोजक डिल्लिराम भट्टराई र सदस्यहरु देव क्षेत्री तथा रुद्र अधिकारीले सहजिकरण गरेका थिए। एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव शिवराज पौडेलले गरेका थिए।

Leave A Reply

Your email address will not be published.