सुचना, समाचार र मनोरन्जन

चलचित्र पत्रकारिताको स्तर सुधार्न पत्रकार संघको नयाँ जमर्को: फिचर लेखन प्रतियोगिताको पुरस्कार राशि २० हजारसम्म

काठमाडौं :

चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। संघले एक सार्वजनिक आह्वान जारी गर्दै इच्छुक सम्पूर्ण चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो।

प्रतियोगितामा भाग लिन चाहने पत्रकारहरूले चलचित्र, गीत-संगीत, कला, साहित्य वा रंगमञ्चको विधा समेटिएको फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा तयार गरी आगामी २०८३ साल असोज २३ गतेभित्र संघको आधिकारिक इमेल [email protected] मा पठाइसक्नुपर्नेछ। प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १ हजार १ सय शब्ददेखि अधिकतम १ हजार ९ सय शब्दसम्मको हुनुपर्ने मापदण्ड तोकिएको छ।

प्राप्त सामग्रीहरूमध्ये संघद्वारा गठित विशेष छनोट समितिले उत्कृष्ट पाँच सिर्जनाहरू चयन गर्नेछ। पुरस्कार राशितर्फ प्रतियोगितामा प्रथम हुने विजेताले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ, तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी दुई जनालाई जनही ५ हजार रुपैयाँसहित सान्त्वना पुरस्कार र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।

प्रतियोगितामा समावेश गरिने सामग्री पूर्ण रूपमा मौलिक, अप्रकाशित र लेखक स्वयंको सिर्जना हुनुपर्ने अनिवार्य सर्त राखिएको छ। साथै, प्रतियोगितामा संघका सदस्यहरू तथा मौलिक लेखनलाई विशेष प्राथमिकता दिइनेछ।

संघका महासचिव गोपीकृष्ण चापागाईंले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई अझ सुदृढ बनाउन यो प्रतियोगिता कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्। उनले यस रचनात्मक अभियानमा देशैभरिका चलचित्र पत्रकारहरूलाई उत्साहजनक रूपमा सहभागी हुन अपिल समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.