काठमाडौं :
नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको कार्यशैलीप्रति कडा व्यङ्ग्य गर्दै असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय देशको राजनीति र सरकारका कदमहरूलाई लिएर नागरिकस्तरमा बहस भइरहेका बेला अभिनेता हमालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै वर्तमान सरकारको नेतृत्व र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
उनले आफ्नो स्टाटसमा आजको अस्थिर, ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा देशको नेतृत्व सम्हाल्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम योग्यताको अभाव खट्किएको संकेत गरेका छन्। मुलुकलाई सही दिशा दिनका लागि नेतृत्वमा पर्याप्त परिपक्वता, राजनीतिक अनुभव, दृढ निर्णय क्षमता र दूरदृष्टि (भिजन) अनिवार्य हुने उनको भनाइ छ।
वर्तमान सत्ता गठबन्धन र सरकारको कार्यशैलीलाई लक्षित गर्दै अभिनेता हमालले नेतृत्वमा यी अपरिहार्य गुणहरू नहुँदा सिङ्गो राष्ट्रले नै गम्भीर चुनौती र संकटको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
कलाकारिताका साथै समसामयिक, सामाजिक र राष्ट्रिय मुद्दाहरूमा विरलै तर तार्किक टिप्पणी गर्ने हमालको यो पछिल्लो अभिव्यक्तिलाई राजनीतिक वृत्त र आम नागरिकले अर्थपूर्ण रूपमा हेरेका छन्। देशको सीमा सुरक्षा, कूटनीति र आन्तरिक सुशासनमा सरकार चुकेको जनगुनासो बढिरहेका बेला राष्ट्रियता र नेतृत्वको परिपक्वतालाई जोडेर आएको उनको यो स्टाटस सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।