पोखरा,
सिटिजन लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन भएको छ।
बिहीबार बिहान ७ः३० बजेदेखि सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले रक्तदान जीवनदान सरह भएकाले स्वस्थ व्यक्तिले अर्को मानिसको जीवन जोगाउने कार्यमा पछि पर्न नहुने बताउनुभयो।

उहाँले सिटिजन लाइफले हरेक वर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रमले कम्पनी आर्थिक सुरक्षामा मात्र नभई समग्र जीवनको सुरक्षाप्रति पनि संवेदनशील रहेको सन्देश दिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्थानीय बासिन्दा, कम्पनीका कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सिटिजन लाइफ इन्स्योरेन्स पोखरा शाखाकी शाखा प्रबन्धक सरिता पोखरेल भट्टराईका अनुसार कम्पनीले यस वर्षसहित सातौँ पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कम्पनीले विगतका वर्षहरूमा पनि रक्तसंकलन लगायत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै कम्पनीले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ।
