काठमाडौं :
नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन प्रशारणको घोषणा गरिएको छ। बुधबार काठमाडौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत फागुन ३ गतेबाट प्रसारणमा आउने जानकारी गराईएको हो।
पत्रकार सम्मेलनमा थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजनविच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सोही कार्यक्रममा कार्यक्रमका निर्देशक विशाल भण्डारीले अघिल्ला सिजन जस्तै रियालिटी शो रोचन हुने बताए।
उनका अनुसार अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरिएको छ। २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाईएको छ भने यसपछि उत्कृष्ट १५को सट्टा उत्कृष्ट १६ को छनौट हुने उनले बताए।
यसको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए भने दोस्रोमा भरतमणी पौडेल रहेका छन्। कार्यक्रम हप्तामा २ दिन विहीबार र शुक्रबार बेलुका ९ बजे बाट प्रसारणमा आउनेछ। कमेडी च्याम्पियन सिजन ३ को जजमा पुरानै रहेका छन्। सन्तोष पन्त,मनोज गजुरेल,ऋचा शर्मा र प्रदीप भट्टराई रहेका छन्। कार्यक्रमलाई रीमा विश्वकर्मा र मेक्सम गौंडेलले उद्घोषण गर्ने बताइएको छ।