सुचना, समाचार र मनोरन्जन

विशेष महाधिवेशनः दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौँ,

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो १ः३० बजेसम्म एक हजार ३२७ प्रतिनिधिले नाम दर्ता गरेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको केहीबेर अगाडि भृकुटीमण्डमा उद्घाटनसमेत भएको छ । संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.