सुचना, समाचार र मनोरन्जन

पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनसिपको भव्य तयारी

पोखरा :

नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना र नेपाल कफी व्यवसायी महासंघ तथा केन्द्रीय कफी सहकारी संघको सहकार्यमा‘चिनौँ, चाखौँ,अपनाऔँ, प्रवर्द्धन गरौँ भन्ने मूल नारासहित नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। यहीँ असार २० गते शनिबार बिहान १० बजेदेखि पोखरा–५, डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयको प्राङ्गणमा हुन कफी कपिङ च्याम्पियनसिप हुन लागेको हो।

नेपालमा कफी खेतीप्रति आकर्षण एवम् कफी संस्कृति बढ्दै गइरहेको सन्दर्भमा नेपाली कफीसम्बन्धी सम्पूर्ण मूल्य शृङ्खला एवम् कफी क्षेत्रको व्यवसायको विषयमा एउटै कार्यक्रमबाट जानकारी दिने उद्देश्यसहित आयोजना हुने उक्त कार्यक्रममा नेपालका सबै प्रदेशबाट कफी उत्पादक, व्यवसायी, सरोकारवाला एवम् उपभोक्ताहरूको सहभागिता रहने बोर्ड क्षेत्रीय कार्यालय, पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयको प्राङ्गणमा हुने यस कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि तथा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

कार्यक्रममा राष्ट्रिय कफी च्याम्पियनसिपका विजेतालाई अवार्डसहित सम्मान, कफी नर्सरी तथा बगैँचा अवलोकन, नेपालका उत्कृष्ट कफीहरूको निःशुल्क सार्वजनिक कपिङ, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन पहिचान प्रतियोगिता, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी एवम् जानकारी, कफीसम्बन्धी मनोरञ्जनात्मक खेल सञ्चालनका साथै कफीको गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया तथा विज्ञबाट प्राविधिक परामर्शलगायत विविध आकर्षक कार्यक्रम समावेश गरिएका छन्।

कफी उत्पादक, किसान, प्रशोधनकर्ता, व्यापारी, सहकारी, क्याफे सञ्चालक, उपभोक्ता, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र कफीप्रेमी सबैलाई कार्यक्रममा सहभागी भई नेपाली कफीको उत्पादन, गुणस्तर र बजार प्रवर्द्धन अभियानलाई थप सशक्त बनाउन आयोजकले आग्रह गरेको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। नेपाली कफीको सम्भावना, स्वाद र गुणस्तरलाई विश्वसामु चिनाउने यस अभियानमा सबैको सहभागिताले कफी क्षेत्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।

Leave A Reply

Your email address will not be published.