काठमाडौँ :
मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। ललितपुरको झम्सिखेलमा आइतबार आयोजित ‘क्राउन सेरेमोनी’ मा उनलाई आधिकारिक रूपमा विजेताको ताज पहिर्याइएको हो।
लन्डन फेसन हाउसद्वारा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा डलीलाई ताज हस्तान्तरण गरेका थिए।
यस जितसँगै डलीले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउनेछिन्।
नेपाली विज्ञापन तथा फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालको पहिलो टेलिभिजन भिडियो विज्ञापनमा अभिनय गर्ने भिजुअल मोडल हुन्। २०४० र २०५० को दशकमा मोडलिङमा सक्रिय रहेकी उनले तेस्रो चरणको ‘कोलोन क्यान्सर’ लाई सफलतापूर्वक पराजित गर्दै पुनः सक्रिय जीवनमा फर्किएर धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन्।
ताज ग्रहण गरेपछि डलीले आफ्नो सफलतामा श्रीमान् निराकर याक्थुम्बा, छोराछोरी तथा सासूआमा इन्दिरा याक्थुम्बाको महत्त्वपूर्ण साथ रहेको बताइन्। उनले क्यान्सरलाई जितेर पाएको दोस्रो जीवनलाई अर्थपूर्ण बनाउने अवसरका रूपमा यो यात्रालाई लिएको उल्लेख गर्दै विश्वमञ्चमा नेपाली महिलाको क्षमता र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीको अनुभव, संघर्ष र आत्मविश्वासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई नयाँ उचाइ दिलाउने विश्वास व्यक्त गरिन्।